आज : Thursday, September 17, 2026 | २०८३ असोज १ बिहीबार

पहिरोले मुख्य पाइपलाइन बगाएपछि बेँसीशहरमा खानेपानी वितरण अवरुद्ध

लमजुङ । लगातारको वर्षापछि गएको पहिरोका कारण लमजुङको बेँसीशहरमा खानेपानी वितरण प्रभावित भएको छ। भाचोक खोलाबाट बेँसीशहरतर्फ आउने मुख्य खानेपानी पाइपलाइन पहिरोले बगाएपछि उपभोक्ताको घरघरमा पानी वितरण गर्न नसकिएको हो।

गत मंगलबार राति पहिरोले मुख्य पाइपलाइन बगाएपछि बेँसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको टोलीले भोलिपल्ट बिहानैदेखि पहिरो पन्छाउने तथा पाइपलाइन मर्मतको काम थालेको थियो। समितिका अनुसार बुधबार राति करिब ११ बजेसम्म पाइपलाइन पुनः जडान गरी पानी सञ्चालन गर्ने प्रयास गरिएको थियो। तर, त्यसपछि पुनः पहिरो खस्दा पाइप फुटेपछि खानेपानी सेवा फेरि अवरुद्ध भएको समितिले जनाएको छ। जसका कारण बिहिबार समेत उपभोक्ताका घरघरमा नियमित रूपमा पानी वितरण गर्न नसकिएको हो।

प्रतिकूल मौसम र जोखिमपूर्ण अवस्थाका बाबजुद पनि पाइपलाइन मर्मत तथा पानी सेवा सञ्चालनका लागि प्राविधिक टोली र कर्मचारीहरू निरन्तर खटिरहेको समितिले जनाएको छ।

खानेपानी वितरणमा भएको समस्याप्रति उपभोक्तासँग क्षमायाचना गर्दै समितिले जति सक्दो चाँडो पाइपलाइन मर्मत गरी खानेपानी सेवा नियमित गर्ने प्रतिबद्धता जनाएको छ।

समितिले सेवा अवरुद्ध हुँदा उपभोक्तालाई परेको असुविधाप्रति क्षमा माग्दै मर्मत कार्यमा सहयोग र धैर्य गर्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस