आज : Monday, August 31, 2026 | २०८३ भदौ १५ सोमबार

तीज खर्च कटाएर तालबराही आमा समूहद्वारा बाढीपीडितलाई ५१ हजार सहयोग 

लमजुङ ।
 लमजुङको बेँसीशहर नगरपालिका–२ भकुण्डे, तालफाँटस्थित तालबराही आमा समूहले तीजका अवसरमा दर खाने कार्यक्रममा खर्च हुने रकम कटाएर रसुवाको भोटेकोशी बाढीपीडितका लागि ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। समूहले शनिबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको समूहकी सदस्य लक्ष्मी धितालले जानकारी दिनुभयो ।

आमा समूहकी अध्यक्ष रेवती धितालका अनुसार तीजमा सामूहिक दर खाने कार्यक्रमका लागि छुट्याइएको रकममध्ये खर्च कटौती गरी विपद्मा परेका नागरिकको राहतमा सहयोग गरिएको हो। ‘तीजमा हुने खर्चलाई केही कटौती गरेर विपद्मा परेका नागरिकको सहयोगमा लगाउनुपर्छ भन्ने सन्देश दिन रकम सहयोग गरेका हौं,’ अध्यक्ष धितालले भन्नुभयो ।

भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले दर खाने कार्यक्रमको खर्च घटाएर रकम संकलन गरेको जनाएको छ। तीजका अवसरमा हुने अनावश्यक खर्च कटौती गरी विपत्तिमा परेका नागरिकको राहतमा सहयोग गर्ने समूहको निर्णयले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सन्देश दिएको छ।

प्रतिकृया दिनुहोस