माया गुरुङ सांगीतिक साँझको तयारी तीब्र, सह–आयोजकमा नाल्मा समाज बेंसीशहर
लमजुङ ।
आगामी असोज १० गते बेंसीशहरको फूलबारी मञ्चमा आयोजना गरिने माया गुरुङ सांगीतिक साँझको प्रचारप्रसारलाई तीब्र पारिएको छ । आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्य समिति लमजुङले कार्यक्रमको तयारी समेत तीब्र पारेको जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष प्रशान्त तामाङले स्थानीय तहको जनप्रतिनिधि, समाजका अगुवा, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न समुदायसँग भेटघाट तीब्र पारिएको बताउनुभयो । यस्तै, सामाजिक सञ्जालमा पोष्टर प्रयोग भइरहेको बताउनुभयो । प्रचारप्रसार अन्तरगत ठाउँठाउँमा व्यानर टाँग्ने कार्यक्रम समेत सुरु भएको बताउनुभयो ।
सांगीतिक साँझको लागि बेंसीशहरस्थित न्हाँदा ट्हो (नाल्मा समाज) ले सह–आयोजकको भूमिकामा रहने गरी सहमति भएको प्रतिष्ठानका अध्यक्ष तामाङले बताउनुभयो । उहाँका अनुसार बेंसीशहर नगरपालिका ५, नाल्मा घर भइ हाल बेंसीशहरमा बस्दै आएका नाल्मालीहरुको समाज न्हाँदा ट्हो (नाल्मा समाज) सह–आयाजक हुने गरी सहमति भइसकेको छ । समाजका अध्यक्ष क्या. चित्रबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकमा उक्त सहमति भएको उहाँले बताउनुभयो ।
प्रतिष्ठानले मंगलबार क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ र उपाध्यक्ष गमीमाया गुरुङ साथै मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङसंग भेटघाट र छलफल गरेको छ । यसअघि नाल्मा समाज काठमाडौं, नाल्मा समाज पोखरा, तमु ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेसीशहर इकाई, आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति लमजुङ, विभिन्न क्लव, आमा समूह साथै नाल्मा गाउँवासीसंग छलफल अन्तरक्रिया गरिसकेको प्रतिष्ठानका सचिव चित्र दुराले बताउनुभयो ।
यस्तै, विभिन्न वडा कार्यालयहरु, जनप्रतिनिधि, कर्मचारीसँग छलफल भइरहेको प्रतिष्ठानका सदस्य निक्की थापाले बताउनुभयो । बुधबारमात्रै लमजुङ उद्योग बाणिज्य संघ, लमजुङ साइक्लिङ संघ, बेंसीशहर नगरपालिका वडा नं. ७ महिला सञ्जालसँग छलफल अन्तरक्रिया गरिएको छ ।
वरिष्ठ लोक गायिका माया गुरुङको नाममा आयोजना गरिने यस सांगीतिक साँझका लागि पोखरामा बाध्यवादनसहित कलाकारहरुको गायन पूर्वअभ्यासको तयारी भइरहेको माया गुरुङ सांगीतिक साँझका कार्यक्रम संयोजक अनुज अधिकारीले बताउनुभयो । उहाँका अनुसार सांगीतिक साँझको तयारी र प्रचारप्रसारसंगै देशविदेशबाट सहयोग गर्ने क्रम पनि बढेको छ । अग्रज गायिकाको सम्मान साथै कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको माया गुरुङ सांगीतिक साँझको तयारीमा देशविदेशमा रहेका लमजुङेहरु जुटेको आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीति प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति लमजुङले जनाएको छ ।








प्रतिकृया दिनुहोस