योगगुरु डा. विकासानन्दको विशेष प्रवचनसहित सर्वोदय सेवाश्रममा संचालित बोलबम मेलाको समापन
लमजुङ ।
श्रावण महिनाको अन्तिम सोमबार, लमजुङको राइनास नगरपालिका–८ स्थित सर्वोदय सेवाश्रम धर्मनाथ धाममा विशेष जीवन दर्शन तथा प्रशिक्षणात्मक कार्यक्रमसहित बोलबम मेलाको समापन गरिएको छ। मनोक्रान्तिका स्रष्टा तथा योगगुरु डा.योगी विकासानन्दद्वारा विशेष जीवन दर्शन प्रवचनसहित बोलबम मेलाको समापन गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सभाका सभामुख कृष्ण धितालको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै योगगुरु डा। योगी विकासानन्दले मानिसको समस्या र त्यसको समाधान दुवै मानिसभित्रै रहेको बताउनुभयो। उहाँले जीवनमा आउने समस्याको समाधानका लागि सही विधि र ज्ञान जान्न आवश्यक रहेको उल्लेख गर्नुभयो।
यस्तै, गण्डकी प्रदेश सभाका सभामुख कृष्ण धितालले मानिस सामाजिक प्राणी भएकाले सामाजिक जीवन जिउने क्रममा जीवन जिउने कला सिक्न आवश्यक रहेको बताउनुभयो। गुरु तथा अग्रजहरूबाट जीवन जिउने कला र विधि सिक्न सकिने र त्यसले जीवनमा सकारात्मक परिवर्तन ल्याउने उहाँको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष एवं सर्वोदय सेवाश्रमका सल्लाहकार तथा योगगुरु कञ्चन घिमिरेले स्वागत तथा समापन गर्नुभएको थियो । कार्यक्रममा सहभागी हुन पुग्नुभएका योगगुरु डा। योगी विकासानन्द र सभामुख कृष्ण धिताललाई सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले आश्रम परिसरमा स्थापना गरिएका भगवान शिवको मूर्ति, एक सय आठ गौमुखी धारा, एक सय आठ शिवलिङ्ग, एक हजार आठ शालिग्राम, नक्षत्र बाटिका कर्मदा नदि लगायतका धार्मिक तथा आध्यात्मिक संरचनाको दर्शन गराइएको थियो।
सोही अवसरमा योगगुरु डा.योगी विकासानन्दले सर्वोदय सेवाश्रममा निर्माण गर्न लागिएको ‘आरोग्य पथ’को समेत शिलान्यास गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेत, सशस्त्र प्रहरी गण लमजुङका प्रमुख विकास अधिकारी, इलाका प्रहरी कार्यालय भोटेओडारकी प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराई, टार्कुघाट प्रहरी प्रमुख, राइनास नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। त्यस्तै, विभिन्न विद्यालयका प्रधानाध्यापक, सामाजिक तथा धार्मिक संघ–संस्थाका प्रतिनिधि, वालिङ स्याङ्जाबाट आएको बोलबम समितिको टोलीसहित सयौं भक्तजन तथा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको आश्रमका आजीवन सदस्य एमम् प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले बताउनुभयो।
साथै कार्यक्रमको सहजताका लागि नेपाल चेन्ज मेकर्स नामक संस्थाका स्वयम् सेवकहरुले अतिथि तथा भक्तहजनहरुलाई पानी वितरणका साथै बसाई व्यवस्थापनमा सहयोग गरेका थिए । बोलबम मेलाको समापनका अवसरमा धाममा सामूहिक रुद्रीसमेत लगाइएको थियो। रुद्रीमा विभिन्न समुदायका एक दर्जनभन्दा बढी कर्ताहरू सहभागी भएका थिए।
यसैबीच, श्रद्धालु तथा भक्तजनहरूले आश्रममा रसिदमार्फत गरेको दानबाट ४९हजार एक सय ७० रुपैयाँ संकलन भएको सर्वोदय सेवाश्रमले जनाएको छ। दान पेटिका तथा अन्य भेटीबाट प्राप्त रकम भने पछि सार्वजनिक गरिने जनाइएको छ।










प्रतिकृया दिनुहोस