आज : Sunday, August 09, 2026 | २०८३ श्रावण २४ आइतबार

लमजुङमा विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न

लमजुङ ।
इलाका प्रहरी कार्यालय भोटेओडारले  विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईको प्रमुख आतिथ्यतामा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम जिल्ला प्रहरी कार्यालय लमजुङ र एचडीसीएस नमुना सामुदायिक अस्पताल लमजुङका प्राविधिक टोलीको सहकार्यमा सञ्चालन गरिएको थियो। 

विपद्का समयमा प्रभावकारी रूपमा उद्धार तथा राहत कार्य सञ्चालन गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रहरीले जनाएको छ। 

अस्पतालका प्राविधिकहरूले प्राकृतिक तथा मानवीय विपद्का घटनामा अपनाउनुपर्ने सुरक्षा सतर्कता, जोखिम न्यूनीकरणका उपाय, घाइते व्यक्तिको सुरक्षित उद्धार, प्राथमिक उपचार प्रदान गर्ने विधि तथा आकस्मिक अवस्थाको व्यवस्थापनबारे विस्तृत जानकारी गराएका थिए। अनुशिक्षणका क्रममा घाइते तथा बिरामीको अवस्था पहिचान गर्ने तरिका, रक्तश्राव नियन्त्रण गर्ने उपाय, बेहोस भएका व्यक्तिलाई प्राथमिक उपचार गर्ने विधि, हाडजोर्नी चोटपटकको व्यवस्थापन, कृत्रिम श्वासप्रश्वास तथा आकस्मिक अवस्थामा तत्काल गर्नुपर्ने उद्धारसम्बन्धी व्यवहारिक अभ्यास समेत गराइएको थियो। सहभागी प्रहरी कर्मचारीहरूले प्रत्यक्ष अभ्यासमार्फत प्राथमिक उपचारसम्बन्धी सीप हासिल गरेका थिए।

 प्रमुख अतिथि प्रहरी निरीक्षक चन्द्रकला भट्टराईले विपद्का घटनामा प्रहरी पहिलो उद्धारकर्ताका रूपमा घटनास्थलमा पुग्ने भएकाले प्राथमिक उपचारसम्बन्धी ज्ञान र व्यवहारिक सीप प्रत्येक प्रहरी कर्मचारीका लागि अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले प्राप्त ज्ञानलाई व्यवहारमा उतारी जनताको जीवनरक्षा तथा सेवामा थप प्रभावकारिता ल्याउन सहभागीहरूलाई आग्रह गर्नुभयो। 

एचडीसीएस नमुना सामुदायिक अस्पतालका प्राविधिक टोलीले विपद्का बेला घाइतेको जीवन बचाउन सुरुआती केही मिनेट अत्यन्त महत्वपूर्ण हुने भएकाले घटनास्थलमै सही प्राथमिक उपचार उपलब्ध गराउन सकिएमा जटिलता तथा मृत्युदर कम गर्न सकिने जानकारी दिएका थिए। कार्यक्रमको समापनमा सहभागीहरूले यस्तो प्रकारको व्यवहारिक तालिमले विपद् तथा आकस्मिक अवस्थामा आत्मविश्वास बढाएको र आगामी दिनमा यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए। जिल्ला प्रहरी कार्यालय लमजुङले भविष्यमा पनि विपद् व्यवस्थापन, उद्धार तथा प्राथमिक उपचारसम्बन्धी तालिमहरू नियमित रूपमा सञ्चालन गर्दै जाने जनाएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङ तथा मातहतका सम्पूर्ण प्रहरी कार्यालयका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

  

 

प्रतिकृया दिनुहोस