आज : Saturday, August 08, 2026 | २०८३ श्रावण २३ शनिबार

ट्होटें पर्वको अवसरमा क्व्होलासोथार गाउँपालिकामा मंगलबार सार्वजनिक विदा

लमजुङ । 
लमजुङको क्व्होलासोथार गाउँपालिकाले ट्होटें पर्वको अवसरमा आगामी मंगलबार सार्वजनिक विदा दिने भएको छ ।  गण्डकी प्रदेश भित्रका गुरुङ (तमु) समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मंगलबार मनाउने सांस्कृतिक पर्व ट्होटेंको अवसरमा यहि साउन २६ गते मंगलबार गाउँपालिकाले सार्वजनिक विदा दिने भएको हो ।
क्व्होलासोथार गाउँ कार्यपालिकाको गत असार ३१ गते बसेको बैठकको निर्णय अनुसार विदा दिईने निर्णय भएको गाउँपालिकाका प्रशासकीय अधिकृत सुमन पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

उक्त दिन क्व्होलासोथार गाउँपालिका तथा गाउँपालिका अन्तर्गतका अत्यावश्यक बाहेकका कार्यालयहरु, विद्यालयहरु र संघ संस्थाहरु बन्द रहने छन् । गाउँपालिकाले गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेंको अवसरमा देश विदेशमा रहनुहुने गाउँपालिकाका नागरिकहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना समेत व्यक्त गरेको छ । 

साउन र चैत्र महिनाको अन्तिम मंगलबार गुरुङ समुदायले आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउने गर्दछनु । गुरुङ भाषामा ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ । तमु समुदायले परापूर्व कालदेखि समाजमा रहेको भूत प्रेतलाई धपाई ट्हो अर्थात राज्यको सुरक्षा गर्ने पर्वका रुपमा हरेक वर्ष साउन र चैत महिनाको अन्तिम मंलवार ट्होटें मनाउदै आएको छ । ट्होटें पर्व लमजुङसहित कास्की, पर्वत, तनहुँ, स्याङ्जालगायतका गण्डक क्षेत्रका गुरुङ गाउँसहित देशभर छरिएका गुरुङहरुले मनाउने गर्दछन् ।

ट्होटे पर्वमा गुरुङ समुदायका मानिसहरूले विभिन्न हातहतियार, वाजाहरु डम्फा, झ्याली, चोपडी , सुलाची , चिम्टा लगाएतका सामाग्रीहरू प्रदर्शन गरी झाकी निकाली धुप वालेर समाजमा रहेको भुतलाइ धपाउने गर्दछन् । विगतमा समाजमा रहेको भुतप्रेत भगाउन मनाईदै आएको यो पर्व विस्तारै समाजमा रहेको भ्रष्टाचार, कुरीती, विसंगती र अन्याय विरुद्ध आवाज उठाउने जनचेतनामुलक पर्वका रुपमा समेत मनाईदै आएको छ ।    

प्रतिकृया दिनुहोस