आज : Monday, November 02, 2026 | २०८३ कार्तिक १७ सोमबार

लमजुङको सिमाना सुन्दरबजारको पाउदीमा बजार अनुगमन, १० व्यवसायको निरीक्षण

लमजुङको सिमना सुन्दरबजार नगरपालिका–७, पाउदीमा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङको नेतृत्वमा २०८३ साल कात्तिक १३ गते अनुगमन गरिएकोमा १० वटा व्यवसायको निरीक्षण गरिएको छ ।अनुगमनका क्रममा व्यवसायमध्ये ९ वटा किराना तथा स्टोर्स र फलफूल पसल तथा एउटा होटल तथा खाजाघर रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा भएको अनुगमन टोलीमा एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकाल, सुन्दरबजार नगरपालिकाका प्रशासकीय अधिकृत ऋषिराम पौडेल, जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारी, उपभोक्ता हित तथा संरक्षणका प्रतिनिधि, पत्रकार बासुदेव थापा तथा इलाका प्रहरी कार्यालयका प्रहरी प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

चाडपर्वका समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव तथा भण्डारणखोरीलाई प्राथमिकतामा राखेर अनुगमन गरिएको टोलीले व्यवसायीहरूलाई उपभोक्ता हित संरक्षण र खाद्य सुरक्षासम्बन्धी आवश्यक सुझावसमेत दिएको जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आ.व. २०८३र८४ मा हालसम्म १७ पटक बजार अनुगमन गरिएकोमध्ये ८ पटक चाडपर्व लक्षित अनुगमन गरिएको हो । शहरबजारमा हुने मूल्यवृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिइएको समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस