जितको नजिक पुगेर चुक्यो विराटनगर, चितवनको विजयी सुरुआत
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रन बनाउँदै अलआउट भयो । एक समय जितको नजिक देखिएको विराटनगरले अन्तिमतिर लगातार विकेट गुमाउँदा खेल आफ्नो पक्षमा पार्न सकेन । विराटनगरले ५ विकेट गुमाएर १३२ रन बनाएको अवस्थामा जितको सम्भावना बलियो देखिएको थियो । तर, त्यसपछि थप १७ रन जोड्दा बाँकी पाँचै विकेट गुमाएपछि विराटनगरको जित्ने सपना अधुरै रह्यो ।
विराटनगरका इमरान शेखले सर्वाधिक ३९ रन बनाए भने आन्द्रे रसेलले ३३ र लोकेश बमले २६ रनको योगदान दिए । चितवनका कमल ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने रिजन ढकालले २ विकेट हात पारे । यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका डेविड मलानले सर्वाधिक ७० रन बनाए । विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलङ्काले एक–एक विकेट लिए ।
एनपीएलअन्तर्गत आजको दोस्रो खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुँदैछन् । खेल अहिले बेलुकी ५ बजे सुरु हुनेछ ।
प्रतियोगिता हिजोदेखि सुरु भएको हो । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो । यस संस्करणको एनपीएलमा पहिलोपटक डीआरएस प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता, विदेशी खेलाडीको उत्साहजनक सहभागिता, दर्शकको बढ्दो चासो तथा व्यावसायिक गतिविधिले प्रतियोगितालाई थप आकर्षक बनाएको छ ।
प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी छन् । एनपीएलको तेस्रो संस्करण आउँदो मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।








प्रतिकृया दिनुहोस