आज : Monday, August 03, 2026 | २०८३ श्रावण १८ सोमबार

मर्स्याङ्दीको दोभानचौर–नाइँचे सडक बन्द, संघर्ष समिति र हाईड्रोका प्रतिनिधिलाई छलफलमा आउन गाउँपालिकाको आह्वान  

लमजुङ ।
सडक स्तरोन्नति र कालोपत्रको माग पूरा नगरेको भन्दै लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ दोभानचौरदेखि नाइँचेसम्मको सडक आज  आईतबारदेखि बन्द गरिएको छ । सडक स्तरोन्नति र कालोपत्र नगरीदिएको भन्दै निर्माणाधीन तथा निर्माण सम्पन्न जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयले आजदेखि अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । 

निर्माणाधीन तथा निर्माण सम्पन्न जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयद्वारा गठित ङादी खोला करिडोर संघर्ष समितिका सचिव राजु गुरुङका अनुसार सडक संचालन गर्ने बारे सोमबारका लागि मर्स्याङ्दी गाउँपालिकाले छलफलमा बोलाएको छ । सो छलफलमा त्यस क्षेत्रमा निर्माणाधीन तथा निर्माण सम्पन्न जलविद्युत आयोजनाका प्रतिनिधिहरुलाई पनि सहभागी हुन आह्वान गरिएको छ । दोभानचौर–नाइँचे सडकको अवस्था अत्यन्त जीर्ण र जोखिमपूर्ण भएकाले सर्वसाधारणको जिउधनको सुरक्षालाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरिएको सचिव गुरुङले बताउनुभयो । समितिका संयोजक झपेन्द्र अधिकारीको अध्यक्षतामा शनिबार बसेको भेलाले अर्को निर्णय नभएसम्म उक्त सडकमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालन रोक्ने निर्णय गरेको हो।


स्थानीयले गत जेठमै दोभानचौरदेखि नाइँचेसम्मको सडक कालोपत्र गर्न ङादी खोला करिडोरमा सञ्चालित जलविद्युत आयोजनासँग माग राखेका थिए। आयोजनाले पटक–पटक सडक स्तरोन्नतिको प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेपछि स्थानीयले जेठ १० गते ङादी खोला करिडोर संघर्ष समिति गठन गरी सडक कालोपत्रेसहित चारबुँदे माग अघि सारेका थिए। ङादी खोला करिडोर क्षेत्रमा ३० मेगावाटको न्यादी जलविद्युत आयोजना, ५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजना र ६.८२ मेगावाटको हिदीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु गरिसकेका छन्। ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ भने २१.४ मेगावाटको न्यादी फेदी र १२.६ मेगावाटको तल्लो न्यादी जलविद्युत आयोजना निर्माणाधीन छन्। 

स्थानीयले जलविद्युत आयोजना निर्माणका क्रममा पक्की सडक बन्ने आशामा कम मूल्यमा जग्गा उपलब्ध गराएको तर वर्षौं बित्दासमेत सडक कालोपत्र नभएको गुनासो गरेका छन्। 

धुलो, हिलो र जीर्ण सडकका कारण दैनिक आवतजावत जोखिमपूर्ण बनेको उनीहरूको भनाइ छ। संघर्ष समितिले आफ्ना माग र निर्णयबारे गत जेठमा मर्स्याङ्दी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा नं। ६ र ७ का वडा कार्यालय, नेपाल पत्रकार महासंघ लमजुङ शाखा तथा न्यादी र सुपर न्यादी जलविद्युत सरोकार तथा समन्वय समितिलाई समेत जानकारी गराएको थियो ।  

प्रतिकृया दिनुहोस