आज : Saturday, August 01, 2026 | २०८३ श्रावण १६ शनिबार

बेँसीसहरमा अपाङ्गता भएका व्यक्तिहरुकालागी न्यायमा पहुँच सुनिश्चित गर्न कार्यशाला गोष्ठी सम्पन्न

लमजुङ ।
लमजुङको दरमुकाम बेँसीसहरमा अपाङ्गता भएका व्यक्तिहरुकालागी न्यायमा पहुँच सुनिश्चित गर्न न्यायिक समितिका पदाधिकारीहरुलाई क्षमता बिकास सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।  नेपाल नेत्रहीन संघको समावेशी बिकासका लागि कार्य नामक कार्यक्रम अन्तर्गत नेपाल नेत्रहीन संघको आयोजना र द नर्वेजीयन एसोसिएसन अफ द ब्लाइन्ड एन्ड पार्सल्ली साइटेडको साझेदारीमा लमजुङका स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुलाइ सो तालिम प्रदान गरिएको हो ।
 
तालिमको शुभारम्भ गर्दै बेशीसहर नगरपालिकाका प्रमुख  गुमान सिंह अर्यालले कुनैपनी अवस्थामा जनताको अधिकार हनन हुन नहुने बताउनुभयो। सामाजिक न्यायको हिसाबले पछाडी परेकाहरुलाइ अगाडी ल्याउन र न्याय दिलाउन न्यायिक सहजकर्ताहरु पनि सक्षम हुनुपर्ने बताउनुभयो । न्यायको व्यवहारिक पक्षलाइ ख्याल गर्नुपर्नेमा उहाँको जोड थियो । 
 
गोष्ठिमा लमजुङ नेत्रहीन संघका अध्यक्ष राजेन्द्र घिमिरेले अपाङ्गता भएका नागरिकसँग सम्बन्धित प्रत्यक्ष कानूनी प्रावधान, अन्तराष्ट्रिय महासन्धि र प्रादेशिक कानुन तथा नेत्रहीन संघ लमजुङले गर्दै आएको कामबारे जानकारी गराउनुभएको थियो । गोष्ठीमा न्यायीक समितिको कानूनी क्षेत्राधिकार र अपाङ्गता भएका नागरिकसँगको अन्तरसम्बन्धबारे छलफल भएको थियो । यस्तै अपाङ्गता भएका ब्यक्तिहरुले न्यायिक क्षेत्रको पहुँचमा भोग्नुपरेको समस्या, चुनौतीबारे छलफल भएको थियो ।  

गोष्ठीमा लमजुङ जिल्ला भित्रका ८ वटै स्थानिय तहका न्यायिक समितीका पदाधिकारीहरु सहभागी थिए । सहभागीहरुलाई ८ वडै पालिकाका ७५ वटै वडाहरुमा दृष्टिविहिन एवं अपाङ्गता भएका व्यक्तिहरुको सर्वव्यापी पहुँचयुक्तता, सन्चार पहुँचको सुनिश्चितता, हदम्याद तथा प्रक्रियामा लचकता, असाधारण अधिकारको प्रयोग, वडास्तरिय मेलमिलाप र कानूनी सचिवालयको व्यवस्था, अल्पकालीन सुरक्षित आश्रय गृह बनाउन पालिकामा प्रस्ताव लैजाने विषयमा प्रतिबद्धता जनाएका छन् । 

कार्यक्रममा नगरपालिकाको तर्फबाट बेशीसहर नगरपालिकाका उपप्रमुख पदमा गुरुङ र गाउँपालिकाको तर्फबाट दोर्दी गाउँपालिकाका उपाध्यक्ष बिच्च बहादुर गुरुङले आफ्नो अनुभव सुनाउनुभएको थियो ।   लमजुङ नेत्रहीन संघका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन नेत्रहीन संघ लमजुङका सचिव बिष्णु पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा स्वागतसँगै र कार्यक्रम बारे नेपाल नेत्रहीन संघ समावेशी बिकासका लागि कार्य लमजुङका पुनर्स्थापना अधिकृत प्रेम महर्जनले जानकारी दिनुभएको थियो । 

प्रतिकृया दिनुहोस