आज : Friday, July 31, 2026 | २०८३ श्रावण १५ शुक्रबार

साउन २३ र २४ गते छैँठौँ हामखोला झरना महोत्सव हुने 

लमजुङ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा न. ८ भुलभुलेस्थित हामखोला झरनामा छैँठौँ हामखोला झरना महोत्सव हुने भएको छ । मर्स्याङ्दी गाउँपालिकाको प्रवर्द्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा यहि साउन २३ र २४ गते सो महोत्सव हुन लागेको हो । महोत्सव बिहान ११ बजेदेखि सुरु भई साँझ ६ बजे सम्म सचालन हुने जनाईएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने छ । महोत्सवमा लोकप्रिय लोकदोहोरी गायक राजु परियार र शिला आलेसँगै लमजुङ लोकतारा २०८२ रन्जित गुरुङ, प्रितम गुरुङको साँगितिक प्रस्तुती रहने छ । 

प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको पर्यटन प्रवद्र्धनसँगै झरनाको मनमोहक दृश्यको आनन्द लिन महोत्सव उपयोगी हुने अपेक्षा गरिएको छ । महोत्सवमा सहभागी भइ स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा साथ दिन आयोजकले आग्रह गरेको छ । महोत्सव मिति नजिकिएसँगै आयोजकले तयारी तिव्र पारेको छ । यसअघि पनि साउन महिनामा यो महोत्सव हुँदै आएको थियो । 

अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने हामखोला झरनामा पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ । अघिपछिभन्दा शनिबार र आईतबार बिदाको दिन झरनामा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । छैठौँ हामखोला झरना महोत्सव हुन लाग्दा यस झरनाको थप पर्यटन प्रवद्र्धन हुने आयोजकको अपेक्षा छ ।  लमजुङको सदरमुकाम बेंसीसहरबाट ८ किलोमिटरको दुरीमा रहेको उक्त झरनामा बढी पर्यटक बेंसीसहरबाटै पुग्ने गरेका छन् । 

प्रतिकृया दिनुहोस