आज : Saturday, August 01, 2026 | २०८३ श्रावण १६ शनिबार

सेवा विस्तारसँगै एचडीसीएस–नमुना सामुदायिक अस्पतालमा बिरामीको विश्वास बढ्दै

लमजुङ। 
एचडीसीएस–नमुना सामुदायिक अस्पतालले आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य सेवा विस्तार, आधुनिक उपकरणको प्रयोग, विशेषज्ञ सेवा थप तथा समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारी सञ्चालनसँगै उल्लेखनीय उपलब्धि हासिल गरेको छ। नयाँ सेवाहरू सञ्चालन तथा गुणस्तरीय उपचार सेवाका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ।

अस्पतालका सूचना अधिकारी शोभा ठकुरीका अनुसार, आर्थिक वर्ष २०८२/८३ मा अस्पतालले विभिन्न उपचारात्मक तथा प्रवर्द्धनात्मक स्वास्थ्य सेवामार्फत हजारौँ नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ।

अस्पतालको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा २१,१३७ जना बिरामीहरुले बहिरंग  (OPD) सेवा लिएका छन्, जुन अघिल्लो आर्थिक वर्षको १७,५१२ जना को तुलनामा करिब २१ प्रतिशतले बढी हो। त्यसैगरी २,९८७ जना ले आपतकालीन सेवा, ३,४९५ जना ले दन्त सेवा, १,९७४ जना ले फिजियोथेरापी सेवा, २,७७५ जना ले अल्ट्रासाउण्ड (USG), १,३६,११० वटा प्रयोगशाला परीक्षण, ३,७०६ जना ले एक्स–रे ५९६ जना ले आँखा परिक्षण, ७११ जनाले मनोविमर्श सेवा १७३ जनाले रेबिज भ्याक्सिन, १२६ जना को ड़ेंगु परिक्षण तथा ३,४२२ वटा माईनर शल्यक्रिया सम्पन्न भएका छन्। यी तथ्याङ्कले अस्पतालप्रति सेवाग्राहीको विश्वास निरन्तर बढिरहेको स्पष्ट देखाउँछन्।

उपचार सेवासँगै अस्पतालले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै विभिन्न निःशुल्क तथा समुदाय केन्द्रित कार्यक्रमहरू सञ्चालन गरेको छ। यस अवधिमा ६,९३६ जना बिरामीले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन्। मालिङ, राइनास, सुन्दरबजार तथा मर्स्याङ्दी क्षेत्रमा सञ्चालन गरिएका निःशुल्क स्वास्थ्य शिविरबाट २,३३५ जना लाभान्वित भएका छन्। समुदायमा सञ्चालन गरिएको नसर्ने रोग (NCD) स्क्रिनिङबाट १,१९८ जना, अस्पतालमा नियमित सञ्चालन हुने मासिक निःशुल्क NCD स्क्रिनिङबाट ८५८ जना, विद्यालयमा सञ्चालन गरिएका स्वास्थ्य शिक्षा, स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रमबाट २,२८९ जना विद्यार्थी तथा मानसिक स्वास्थ्य, नसर्ने रोग र अन्य स्वास्थ्य सचेतना कार्यक्रममार्फत १,०४५ जना समुदायका नागरिक लाभान्वित भएका छन्।

अस्पताल प्रमुख हेमन्त श्रेष्ठले अस्पतालमा नयाँ सेवा विस्तार, विशेषज्ञ स्वास्थ्य सेवा, आधुनिक उपकरणको प्रयोग तथा सेवाको गुणस्तरमा गरिएको निरन्तर सुधारका कारण अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको बताउनुभयो। उहाँले अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष बिरामीको संख्या उल्लेखनीय रूपमा वृद्धि हुनु समुदायको विश्वास र अस्पताल परिवारको समर्पित सेवाको प्रतिफल भएको उल्लेख गर्नुभयो साथै बिरामीको माग अनुसार पछिल्लो पटक मुटु को समस्या पहिचानको लागि ECHO सेवा पनि सुरु गरिएको जानकारी गराउनु भयो l   
उहाँले आगामी दिनमा शल्यक्रिया सेवाको दायरा अझ विस्तार गर्ने, थप विशेषज्ञ सेवाहरू सञ्चालन गर्ने, अत्याधुनिक स्वास्थ्य उपकरणहरू थप गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अझ सहज बनाउने तथा आर्थिक रूपमा विपन्न नागरिकलाई निःशुल्क र सहुलियतपूर्ण स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समुदायको विश्वास, सेवाप्रतिको समर्पण र निरन्तर सुधारको यात्रासँगै एचडीसीएस–नमुना सामुदायिक अस्पतालले लमजुङ र छिमेकी जिल्लाका नागरिकका लागि भरपर्दो, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा आफ्नो पहिचान अझ सुदृढ बनाउँदै गएको छ। 

प्रतिकृया दिनुहोस