आज : Tuesday, October 27, 2026 | २०८३ कार्तिक ११ मंगलबार

लमजुङका किसानलाई धान थन्क्याउन भ्याईनभ्याई

तस्वीरः अर्जुन गुरुङ

लमजुङ । 
दसैं सकिएसँगै लमजुङका किसानहरु धान काट्न र थन्क्याउनमा व्यस्त हुन थालेका छन् । टारी तथा फाँटहरुमा लगाइएका वर्णशंकर र उन्नत जातका धान पाकेर पहेँलपुर भएपछि किसानलाई अहिले धान काट्न र थन्क्याउनमा भ्याइ–नभ्याइ छ । लमजुङको मध्यनेपाल, दोर्दी, राइनास, मस्र्याङ्दी, सुन्दरबजारका विभिन्न स्थानमा लगाइएका धान काट्न थालिएको छ । 

रैथानेभन्दा वर्णशंकर र उन्नत जातका धानहरु छिटो पाक्ने भएकाले कात्तिकमै धान थन्क्याउन किसानलाई चटारो परेको कृषि  विकास कार्यालय लमजुङले जनाएको छ । कृषि विकास कार्यालय लमजुङका कृषि विज्ञ मदन रेग्मीका अनुसार रैथाने धान पाक्न मंसिर कुर्नुपर्छ, उन्नत र वर्णशंकर जातका धान छिट्टै पाकेका छन् । धान पाकेर फाँटहरु पहेँलपुर भएका छन । किसानलाई धान काट्न र थन्क्याउन चटारो छ । धान पाकेर पहेँलपुर भएपनि केहीदिनमा बर्षा हुने मौषमविद्हरुको भनाइने किसानहरु चिन्तित बनेका छन् । पाकेर मुखमा आएको खेती बर्षाले बिगार्छ कि भन्ने चिन्ता किसानलाई छ । 

“खेत रोप्नै गाह्रो । रोपेपछि फलेको फसल भित्राउन उस्तै गाह्रो । किसानलाई कसैगरी सुख छैन्”, मस्र्याङ्दी–९ टारगाउँका किसान उमाकान्त गौतमले दुखेसो पोख्नुभयो । 

कृषि कार्यालयका अनुसार लमजुङमा १६ हजार ४ सय ६३ हेक्टरमा धानखेती हुँदै आएको छ । १५ हजार ५ सय ५२ हेक्टरमा बर्खे धान हुन्छ । ९० प्रतिशतभन्दा बढीमा उन्नत जातको धान खेती हुँदै आएको कृषि कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार उन्नत जातका रामधान, सावित्री, लोकतन्त्र, हर्दिनाथ, सुनौलो सुगन्ध, खुमल ४, सुक्खा १, २, ३, ४ जातका धन खेती गरिदै आएको छ ।

वर्णशंकरमा यूएस ३१२, शंकर, गोरखनाथ, चाँदनी र पृथ्वी जातका धान खेती गर्ने गरिएको छ । यस्तै, स्थानीय जातमा एक्ले, मन्सरा, मधेसे, अनादी, आँगा छन् । किसानलाई स्थानीय तहका कृषि शाखाले ५० देखि ७५ प्रतिशत अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरेका थिए । यसबाहेक किसान आफैले पनि बजारबाट उन्नत र वर्णशंकर जातका धानको बिउ किनेर रोपेका थिए ।

प्रतिकृया दिनुहोस