लताकुञ्ज आधारभूत विद्यालयको ७१औँ वार्षिकोत्सव सम्पन्न, नवनिर्मित छकोठे भवन उद्घाटन
लमजुङ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, सिउरूङस्थित श्री लताकुञ्ज आधारभूत विद्यालयको ७१औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष वखतबहादुर गुरुङको अध्यक्षता तथा मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पीआईएन यूकेका अध्यक्ष एमबीई हावर्ड ग्रिन विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। बार्षिकोत्सवकै अवसरमा विद्यालयको नवनिर्मित छकोठे पक्की भवनको उद्घाटन गरिएको छ। मर्स्याङ्दी गाउँपालिकाको विशेष पहलमा एक करोड ६ लाख ६९ हजार १७८ रुपैयाँको लागतमा विद्यालयको छकोठे आरसीसी पक्की भवन निर्माण गरिएको हो। भवन निर्माणका लागि मर्स्याङ्दी गाउँपालिकाले २० लाख रुपैयाँ, पहा ट्रस्ट नेपालले ७६ लाख ६९ हजार १७८ रुपैयाँ र स्थानीय समुदायले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
नवनिर्मित भवनले विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग पुग्नुका साथै विद्यार्थीहरूलाई सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्न सहज हुने अपेक्षा गरिएको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्ने मर्स्याङ्दी गाउँपालिका, पहा ट्रस्ट नेपाल, स्थानीय समुदायलगायत सम्पूर्ण सहयोगीप्रति विद्यालयले धन्यवाद व्यक्त गरेको छ।







प्रतिकृया दिनुहोस