गण्डकी प्रदेशमा स्वास्थ्य सुधार कार्यक्रम अगाडि बढाएको छौँ ः स्वास्थ्यमन्त्री पाठक
गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य सधार कार्यक्रम अगाडि बढाएको बताउनुभएको छ । उहाँले गण्डकी प्रदेशलाई स्वास्थ्यमा नमुना प्रदेश बनाउने गरी स्वास्थ्य सुधार कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।
लमजुङ अस्पतालको दोस्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाठकले स्वास्थ्य क्षेत्रमा नीतिगत, कानुनी र भौतीक संरचना सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमुना प्रदेश बनाउनका लागि यी तीन वटा क्षेत्रमा सुधार गर्न सके अपेक्षित उपलब्धी हाँसिल गर्न सकिने बताउनुभयो ।
उहाँले आफ्नो कार्यकालमा एक सय वटा कामलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेको बताउनुभयो । अस्पतालको आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन, भौतिक संरचना निर्माण र उपकरण उपलब्ध गराउने कार्यमा प्रदेश सरकार प्रतिवद्ध रहेको मन्त्री पाठकले बताउनुभयो । अस्पतालमा रहेका विभिन्न प्रकारका समस्यालाई समाधान गर्न प्रदेश सरकार लागिपरेको उहाँको भनाइ छ । पछिल्लो तथ्याङ्कअनुसार ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको बताउँदै स्थानीय तहको समन्वयमा अब गाउँगाउँमा पुगेर व्यक्ति व्यक्तिमा नसर्ने रोगका स्क्रिनिङ गर्ने कार्यक्रम अगाडि बढाइने उहाँले बताउनुभयो । लमजुङ अस्पतालका लागि सुविधा सम्पन्न भौतिक संरचना निर्माण, जनशक्ति व्यवस्थापन र आवश्यक उपकरण थप गर्नुपर्ने विषयमा स्वास्थ्य मन्त्रालय अगाडि बढिरहेको मन्त्री पाठकले बताउनुभयो ।
वार्षिकोत्सव कार्यक्रमलाई संवोधान गर्दै स्वास्थ्यमन्त्री पाठकले लमजुङ अस्पतालका लागि जनशक्तिसहित सिटिस्क्यान सेवा स्थापना गर्ने कार्य प्राथमिताकामा रहने प्रतिवद्धता जनाउनुभएको छ । लमजुङ अस्पताललाई हरेक तवरबाट नमुना अस्पताल बनाउनका निम्ति लागिपर्ने बताउनुभएको छ । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले लमजुङ अस्पतालको पहिलो प्राथमिकता सिटिस्क्यान सेवा रहेको बताउनुभयो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले राम्रो आचरण र सकारात्मक सोचका साथ काम गर्नुपर्ने बताउनुभयो । लमजुङ अस्पतालको सेवालाई स्तरोन्नति गर्नका लागि प्राथमिकताका साथ भौतिक संरचना निर्माण गर्नुपर्ने र अब बन्ने भौतिक संरचना ५० वर्षपछिको अवस्थालाई मध्यनजर गरेर निर्माण गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देबकोटाले अस्पतालको समग्र गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले गत आर्थिक वर्षको प्रगति विवरणसमेत प्रस्तुत गर्नुभएको थियो । अस्पताल विकास समितिका अध्यक्ष हरिजंग तामाङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री मुध अधिकारी, जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, नेकपा एमालेका जिल्ला अध्यक्ष राजकुमार विष्ट, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङका सचिव सुनिल सुनार, राप्रपाका जिल्ला उपाध्यक्ष ठाकुरप्रसाद गुरुङ, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष परमेश्वर अधिकारीलगायतले मन्तव्य राख्नुभएको थियो । अस्पताल विकास समितिका सदस्य दिीपक बरालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सदस्य बासुदेव थापाले गर्नुभएको थियो । कार्यक्रम अस्पतालमा कार्यरत कर्मचारीहरुले बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । अस्पतालले वार्षिकोत्सवको अवसरमा सञ्चालन गरेको आन्तरिक खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कारसमेत वितरण गरेको थियो ।








प्रतिकृया दिनुहोस