आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

राजशान्ति फाउण्डेशनद्धारा मानवसेवा आश्रममा खाद्यान्न सहयोग

राजशान्ति फाउण्डेशन बेलायतले मानवसेवा आश्रम लमजुङलाई खाद्यान्न सहयोग गरेको छ । राजशान्ति फाउण्डेशन बेलायतका संस्थापक राजकुमार सुनार (राजु) र शान्ति सुनार दम्पत्तीले आश्रम व्यवस्थापनका लागि खाद्यान्न सहयोग गर्नुभएको हो । 
सुनार दम्पतीले सोह्रश्राद्धको अवसरमा आफ्नो कुलमा दिवगंत सम्पूर्ण पितृहरुको सम्झनामा १५ हजार बरारबरको खाद्यान्न सहयोग गर्नुभएको हो । आफू बेलायतमा रहेर पनि सुनार दम्पत्तीले आफ्नो गृह जिल्लामा रहेको आश्रममा सहयोग गर्र्नुभएको हो । 
आश्रमका लागि आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य सामग्री फाउण्डेशनका नेपाल प्रतिनिधि समीप विश्वकर्मा र पत्रकार अनुज अधिकारीले आश्रमका संयोजक अनिता अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । सुनार दम्पत्तीले यसअघि पनि आश्रम सञ्चालनका लागि नगद सहयोग, भाँडावर्तन, खाद्यान्नलगायतको सहयोग गर्दै आएको छ । 
फाउण्डेशनले यस वर्ष मात्रै जिल्लाका विभिन्न स्थानमा गरी २ लाख ३६ हजार रुपैयाँ सहयोग गरेको छ । फाउण्डेशनका संस्थापक राजकुमार सुनारका अनुसार पञ्चशील तामाङ समाज सुन्दरबजार ५ को भवन निर्माणका लागि ५१ हजार रुपैयाँ, हातोमालो मूल आमा समुह भोटेओडारले सञ्चालन गरेको तीजगीत प्रतियोगिताका लागि २१ हजार रुपैयाँ, लमजुङ कलाकार समाजलाई ३१ हजार एकसय रुपैयाँ सहयोग गर्नुभएको छ । 
यसैगरी जिता गोल्डेन फिउचर युवा क्लबद्वारा आयोजित फुटबल प्रतियोगिताका लाथि २१ हजार रुपैयाँ, स्वर्गीय अप्सरा विकको परिवारलाई २१ हजार रुपैयाँ, आशी माला फिल्मका लागि २१ हजार रुपैयाँ, ३१ औँ त्रिवेणी कपका लागि २१ हजार रुपैयाँ, भारती सदन मावि र जलदेवी युवा क्लबको आयोजनामा सञ्चालित भलिबल प्रतियोगिताका लागि १० हजार रुपैयाँ र क्यान्सर पीडित बिर्ख विकको उपचारका लागि उहाँले ८ हजार ५ सय १२ रुपैयाँ सहयोग गर्नुभएको छ । 
प्रवासमा रहँदा आफ्नो परिपारको कमाएको केही प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने उद्धेश्यसहित परिवारको नाउँमा फाउण्डेशन खोलेर सहयोग गर्ने गरिएको सुनार दम्पत्तीले बताउनुभएको छ । प्रवासमा रहेर पनि मातृभूमिका लागि सहयोग गर्न पाउँदा आफूलाई ठूलो आत्मसन्तुष्टि मिल्ने सुनारले बताउनुभयो । सन् २ हजारमा स्थापना भएको फाण्डेशनले यस वर्ष मात्रै साढे दुई लाख सहयोग गरेको र हालसम्म ३० लाख बढी सहयोग गरिएको उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस