आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

इजरायलमा हमासको आक्रमणबाट १० नेपाली मारिएको पुष्टि   

दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा प्यालेस्टायनी कट्टरपन्थी समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि भएको छ  ।
मृत्यु हुनेमा सबै छात्र रहेको इजराजयलस्थित नेपाली दूतावासले जनाएको छ । ती विद्यार्थीहरूको शनिबार दिउँसोबाट नेपाली दूतावाससँग सम्पर्क टुटेको थियो ।
इजराइलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । 
इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले विभिन्न सञ्चार माध्ययमलाई बताए अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।
यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।
सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ । गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि उपचार भइरहेको छ । टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।
यस घटनाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराइएको राजदूत रिजालले नेपालका विभिन्न सञ्चार माध्ययमलाई बताउनुभएको छ । उहाँले घाइते विद्यार्थीहरुलाई तुरुन्त उपचारको प्रबन्ध गर्न इजराइलको सबै तहमा प्रयास गरिए पनि सफल हुन नसकेको बताउनुभएको छ ।
दूतावासका अनुसार शनिबार बिहान ६ बजेदेखि ७ बजेको समयमा उनीहरु बसेको क्याम्पभित्र हमासका लडाकुहरु प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
आक्रमणमा परेका विद्यार्थीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् ।
यो विश्वविद्यालयले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थीहरु पठाएका थिए । जसमध्ये ११ जना छात्रा छन् । उनीहरू यो क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ । ४९ जना विद्यार्थीहरुलाई ६ वटा समूहमा बिभाजन गरी अलग–अलग कृषि फार्ममा पठाएका थिए । ३२ जना कृषि विद्यार्थीहरु भने बिभिन्न कृषि फार्ममा रहेको वंकरमा सुरक्षित छन् ।
आफूहरुमाथि आक्रमण हुने बित्तिकै घाइते विद्यार्थीहरुले नजिकको फार्ममा रहेका साथीहरुलाई उपचारको प्रबन्ध गर्न खबर गरेका थिए । ती साथीहरुले तुरुन्तै एम्बुलेन्सलाई खबर गरेका थिए । एम्बुलेन्सले तत्काल उद्दार गर्न नसक्दा १० जना नेपालीले ज्यान गुमाउनु परेको हो । 

प्रतिकृया दिनुहोस