लमजुङका युवकः मलेसियाबाट फर्किए, रुस–युक्रेन युद्धमा मारिए
रुसी सेनामा भर्ती भएका एकजना लमजुङे युवक युद्धमा मारिएका छन् । रुस–युक्रेन युद्धमा लमजुङको दूधपोखरी गाउँपालिका १, घमारचोकका ३२ वर्षिय साजन गुरुङको मृत्यु भएको परिवारले पुष्टि गरेको छ ।
मृतकका बुवा श्रीमान् गुरुङका अनुसार पुस १६ गते राती ८–९ बजेतिर अन्तिम भिडियो कल भएको र त्यसपछि सम्पर्क हुन नसकेकोमा अहिले मृत्युको खबर आएको हो । एकाएक सामाजिक सञ्जालमा आफ्नो छोरोको मृत्यु भएको खबर सार्वजनिक भएपछि सोधीखोजी गर्दा छोराको मृत्यु भएको भनी सवैले भनेको तर, आधिकारिक रुपमा कसैले पनि पुष्टि नगरेको उहाँले बताउनुभयो । उहाँले छोरा साजनसंग २ सेकेन्डमात्रै कुरा गर्न पाएको र त्यसपछि फोन काटिएको बताउनुभयो । त्यसपछि पटक–पटक सम्पर्क गर्दा सम्पर्क हुन नसकेको उहाँको भनाइ छ ।
रुसी सेनामा भर्ना भएका साजनका साथीहरुले जर्मनमा रहेका साजनका भाइ कुमारलाई खबर पठाएपछि कुमारले गाउँमा दाइ साजनको मृत्यु भएको खबर पठाएका थिए । पुष्टि हुन नसकेको खबरले गाउँमा सवै शोकाकूल बनेकोमा पछि बुझ्दै जाँदा मृत्यु भएको एकीन गर्न बाध्य भएको उहाँले बताउनुभयो ।
श्रीमानका अनुसार गाउँमा कसैको मृत्यु भएपछि जुठो हुने भएकाले गाउँलेलाई जुठो फुकाउन पुस २९ गते काजकिरिया समेत गरिसकिएको छ । मृतक साजनका श्रीमती र एक छोरा छन् । गाउँमा बुवाआमा बस्दै आएका छन् ।
रोजगारीको सिलशिलामा असोज २ गते माल्टा–मकाउ जान्छु भनी गएका साजन रुसी सेनामा पुगेको परिवारलाई थाह नभएको र पछिमात्रै थाह भएको श्रीमानले बताउनुभयो । साजनको मृत्युपछि गाउँ शोकाकुल बनेको वडाअध्यक्ष वडाअध्यक्ष दुर्गामान गुरुङलले बताउनुभयो ।
साजन पहिले पनि मलेशियामा ९ महिना बसेर फर्किनु भएको थियो । भनेजस्तो काम नपाएपछि श्रीमानकै आग्रहमा फर्किएका छोरालाई सैनिक पोषाकमा देखेपछि फर्किन श्रीमानले आग्रह गर्नुभएको थियो । रुसी सेनाको परिबन्धमा परेका साजन फर्किन नपाउँदै युद्दमा मारिन पुगेको हो ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका सचिव सुनिल सुनारका अनुसार साजन दूधपोखरी गाउँपालिका वाइसीएसल अध्यक्ष समेत रहेका थिए । गुरुङको निधनले पार्टी समेत स्तब्ध बनेको उहाँले बताउनभुयो । साजनको परिवारलाई भेट्न नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र पौडेलसहितको टोली मंगलबार साजनको घर दूधपोखरी गाउँपालिका १, घमारचोक पुगेको छ ।

.jpeg)






प्रतिकृया दिनुहोस