आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

दोर्दीका २० जना छात्र÷छात्रालाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण

हाम्रो नयाँ अवसर सामुदायिक संस्था नेपालले दोर्दी गाउँपालिकाका २० जना छात्र छात्रालाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ । दोर्दी गाउँपालिका वडा नं ६ को भगवान आधारभूत विद्यालय, भूमेश्वर प्राथमिक विद्यालय र दोर्दी ७ को बालकल्याण माविमा अध्ययनरत २० जना छात्र÷छात्रालाई शैक्षिक सामग्रीसहित छात्रवृत्ति वितरण गरिएको हो ।
भगवान आधारभूत विद्यालय दोर्दी ६ डोडेनीमा सोमबार एक कार्यक्रमको आयोजना गरी तीन वटा विद्यालयका गरीब तथा जेहेनदार छात्र÷छात्रालाई शैक्षिक सामग्री वितरण गरिएको हाम्रो नयाँ अवसर सामुदायिक संस्था (ओनो नेपाल) लमजुङ उपशाखा संयोजक सुनिल घलेले बताउनुभयो ।
उहाँका अनुसार भगवान आधारभूत विद्यालयका १३ जना, भूमेश्वर प्राथमिक विद्यालयका ४ जना र बालकल्याण माध्यामिक विद्यालयका तीन जना गरी २० जना छात्र÷छात्रालाई जनही १० हजार बराबरको शैक्षिक सामग्री प्रदान गरिएको छ । प्रति व्यक्ति ५ हजार बराबरको शैक्षिक सामाग्री विद्यालय पोषाक, झोला, कापी कलम, कलर पेन, क्याल्कुलेटरलगायतको सामग्री प्रदान गरिएको हाम्रो नयाँ अवसर सामुदायिक संस्था नेपालका अध्यक्ष देवीलाल शर्मा दाहालले बताउनुभयो ।
प्रति व्यक्ति ५ हजार बराबरको शैक्षिक सामग्री र प्रतिव्यक्ति ५ हजार रुपैयाँ नगद रकम सहयोग गरिएको उहाँले बताउनुभयो । गरीब तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहजता प्रदान गर्न सहयोग गरिएको दाहालले बताउनुभयो । जसका कारण आर्थिक अभावमा बिचैमा विद्यालय छोड्नुपर्ने अवस्थामा रहेका विद्यार्थीलाई विद्यालयमा नियमित हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ । शैक्षिक सामग्री वितरण कार्यक्रममा भगवान आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर घले, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णबहादुर घले, बाल कल्याण माविका शिक्षक प्रतिनिधि सुकबहादुर गुरुङ, भूमेश्वर प्राविका प्रधानाध्यापक लीलाबहादुर गुरुङ, ओनो नेपालका संस्थापक अध्यक्ष भोलानाथ पौडेल, कोषाध्यक्ष बिना थापा मगरलगायतको उपस्थिति रहेको थियो ।
कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने गरीब तथा जेहेनदार छात्र÷छात्रालाई सहयोग गरिएको ओनो नेपालले जनाएको छ । यसैगरी ओनो नेपालले राप्ती नगरपालिका चितवनका विभिन्न विद्यालयका १५ जना छात्र÷छात्रालाई पनि यस अघि प्रतिव्यक्ति १० हजार बराबरको शैक्षिक सामग्री वितरण गरेको जनाएको छ ।  


 

प्रतिकृया दिनुहोस