पहिरोले परिवार नै बगाएपछि बेसाहरा निरजलाई युनिभर्सल एकेडेमीले कक्षा १२ सम्म पढाउने
पहिरोमा परेर परिवार गुमाएका लमजुङको क्व्होलासोथार गाउँपालिका ३, बगुमका ११ वर्षिय निरज गुरुङलाई बेंसीशहरस्थित युनिभर्सल एकेडेमीले १२ कक्षा सम्म पढाउने भएको छ ।
बेंसीशहरमा आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी एकेडेमीले कक्षा ५ मा गुरुङ भर्ना भइसकेको र कक्षा १२ सम्म पढाउने घोषणा गरेको हो । यसका लागि एकेडेमी सञ्चालक समितिका सदस्य एवं पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले सक्रिय भूमिका खेल्नुभएको छ ।
असार ११ गते रातीको पहिरोले निरजका आमा ३७ वर्षिय पञ्चकुमारी गुरुङ, निजरका बहिनी ५ वर्षिया निष्मा गुरुङ र हजुरबुवा ७० वर्षिय रुद्रमान गुरुङको निधन भएको थियो । निरज भने बर्खे बिदा भएपछि छिमेकी गाउँ घाम्राङबाट फर्केका काका नाता पर्ने अमर गुरुङसंग सुत्न गएका कारण जोगिए । हजुरआमा लिलाकुमारी नजिकै घनपोखराको फ्रेंजोस्थित छोरीज्वाइँको घर गएका कारण जोगिएका छन् । निरजका बुवा कुमबहादुरको ४ वर्षअघि करेन्ट लागेर निधन भइसकेको छ ।
घलेउत्तरकन्या मावि कक्षा ६ मा पढ्दै आएका निरजले विपदका कारण बुवाआमा र बैनीसहित परिवार नै गुमाएपछि युनिभर्सले एकेडेमीले कक्षा १२ सम्म पढाउने निर्णय गरेको प्रिन्सीपल बिमल अधिकारीले बताउनुभयो । उहाँका अनुसार एकेडेमीको सामाजिक उत्तरदायित्व अन्तरगत गरीब, जेहेन्दार तथा असाहय १० प्रतिशतलाई छात्राबृत्ति प्रदान गरिएकोमा निरजलाई पूर्ण रुपमा छात्राबृत्ति प्रदान गरिने छ ।
कार्यक्रममा एकेडेमी सञ्चालक समिति अध्यक्ष ओमबहादुर घिमिरे, सञ्चालक मोहनबहादुर थापा, चीनबहादुर केसी, स्थानीयवासिन्दा समेत रहनुभएका हुलाक कार्यालय प्रमुख गंगाबहादुर घलेलगायतको उपस्थिति थियो ।
एकेडेमी सञ्चालक सदस्य घलेका अनुसार निरजलाई छात्रावासमा राखेर पढाउने व्यवस्था गरिएको छ । यसका लागि ५० प्रतिशत छुटमा राखेर पढाउने सहमति छात्रावास सञ्चालकहरुसंग सहमति भएको छ । यसबाहेकका शुल्क निरजका नाममा जम्मा हुने रकमको व्याजबाट बुझाइने उहाँले बताउनुभयो ।
कृषक जागरण वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत रहनुभएका प्रेमबहादुर घलेले निरजलाई स्टेशनरी खर्चबापत वार्षिक १० हजार रुपैयाँ दिइने बताउनुभयो । विद्यार्थी पुस्तक पसलले निरजलाई निःशुल्क कितावको व्यवस्थापन गरेको छ ।
क्व्होलासोथार गाउँपालिका ३ का वडाअध्यक्ष आसबिर गुरुङले गाउँपालिकाको तर्फबाट किरियासहित तत्काल खर्चका लागि ७१ हजार ९ सय ४० रुपैयाँ पहिरोपीडितलाई सहयोग गरिएको बताउनुभयो । वडाले १० हजार रुपैयाँ प्रदान गरेको थियो । रेडक्रस सोसाइटीले भाँडाकुँडा र लत्तकपडा, एक्यापले पहिरो पीडित घरपरिवारलाई १५–१५ हजार रुपैयाँ, पोंचुकों तमू समाज पोखराले १५ हजार, तिजे उत्तरकन्या कृषि सहकारीबाट १३ हजार रुपैयाँ सहयोग गरिएको उहाँले बताउनुभयो । सहयोग रकमका लागि गाउँस्थित आदर्श युवा क्लवले समन्वय गरिरहेको छ ।
पीडितलाई उत्तरकन्या रिल्दी घले समाज रामपुर चितवनले १ लाख ८० हजार रुपैयाँ प्राप्त भएको छ । कतारबाट पीडित बालकका कान्छाबुवा हेमजङ गुरुङका साथी हेमन्त सारुमगरको नेतृत्वमा संकलन गरिएका १ लाख १६ हजार रुपैयाँ २५ मध्ये ५० हजार रुपैयाँ बालकलाई हस्तान्तरण गरिएको छ । ६६ हजार २५ रुपैयाँ बालकका हजुरआमा लिलाकुमारीलाई प्रदान गरिएको छ । पीडित परिवारलाई संघीय सरकारका तर्फबाट ७ लाख रुपैयाँ राहत प्रदान गरिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।








प्रतिकृया दिनुहोस