क्व्होलासोथार ९ का जेष्ठ नागरिकको घरघरै स्वास्थ्य परीक्षण
क्व्होलासोथार गाउँपालिका ९ मा ८० वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य कर्मी घरघरमा जान थालेका छन् ।
वडास्थित साल्मेभन्ज्याङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु बिहीबारदेखि वडाभित्रका जेष्ठ नागरिकको घर घरमा स्वास्थ्य परीक्षण गरेको हो । साल्मेझन्ज्याङ स्वास्थ्य चौकीका प्रमुख सन्तोषबाबु सुवेदीका अनुसार घरघरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नगारिकहरुको व्लड प्रेसर, सुगर परीक्षण थाल्नुका साथै शरीरमा अक्सिजनको मात्रा परीक्षण थालेको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्षबाट पालिकाभित्रका स्वास्थ्य चौकीले प्रत्येक महिनामा सम्बन्धित वडाभित्रका घरघरमा पुगेर प्रत्येक जेष्ठ नगारिकहरुको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम तय गरेअनुसार स्वास्थ्य चौकीले स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको उहाँले बताउनुभयो ।
स्वास्थ्य चौकीसम्म आउन नसक्ने अवस्थाका बृद्धाबृद्धालाई घरमै गई सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँले अधिकांश जेष्ठ नगारिकहरुमा प्रेसरको समस्या देखिएकाले चेकजाँच गरी औषधी समेत विरतण गरिएको छ । स्वास्थ्य चौकीका प्रमुख सुवेदीसहित स्वास्थ्य चौकीका डा. सागर थापा, अनमी मनकामना कार्की, टिका गुरुङलगायतले सेवा प्रदान गर्नुभएको थियो ।
स्वास्थ्य चौकीले चालु आर्थिक वर्षबाट प्रत्येक महिनामा ३ दिनसम्म वडाभित्रका सवै टोलका ८० वर्षभन्दा माथिका जेष्ठ नगारिकको स्वास्थ्य परीक्षण गर्ने जनाएको छ । स्वास्थ्यकर्मी घरघरमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दा जेष्ठ नगारिकहरु खुसी भएको वडाअध्यक्ष हुमराज गुरुङले बताउनुभयो ।








प्रतिकृया दिनुहोस