आज : Tuesday, September 08, 2026 | २०८३ भदौ २३ मंगलबार

लोक गायक राजु परियार लमजुङ समाज कतारबाट सम्मानित

विश्वविख्यात लोक दोहोरी गायक लोक स्वरसम्राट राजु परियारलाई कतारमा सम्मान गरिएको छ । 
लमजुङ सेवा समाज कतारले एक कार्यक्रमबीच परियारलाई सम्मान गरेको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको सातौँ वार्षिकोत्सव तथा कलाकार राहत कोष स्थापनाका लागि आयोजित कार्यक्रममा सहभागी हुन कतार पुग्नुभएका परियारलाई कतारमा रहेका लमजुङेहरुको संस्था लमजुङ सेवा समाज कतारले सम्मान गरेको हो ।
लमजुङ जिल्लाको बेसीशहर नगरपालिका २ चिसापानीमा जन्मिएर लोक गीत संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको भन्दै परियारलाई सम्मान गरिएको लमजुङ सेवा समाज कतारका अध्यक्ष विनोदप्रसाद बसौलाले बताउनुभयो । 
कतारमा रहेका लमजुङेहरुको बाक्लो उपस्थितिमा दोसल्ला र सम्मानपत्रले परियारलाई सम्मान गरिएको अध्यक्ष बसौलाले बताउनुभयो । लोक गीत संगीतको क्षेत्रबाट लमजुङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल गायक परियारको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको उहाँले बताउनुभयो ।
कतारको सनैयास्थित फूलबारी रेस्टुरेन्टको हलमा आयोजना गरिएको कार्यक्रममा लमजुङेहरुसँग भेटघाट गर्नुका साथै सम्मान गरिएको लमजुङ सेवा समाज कतारले जनाएको छ । कार्यक्रममा संस्थाका संरक्षक डिलराम गुरुङ, प्रमुख सल्लाहकार सिताराम थापा, सल्लाहकारहरु कृष्ण बराल, कर्म गुरुङ, रविन्द्र गुरुङ, युद्धजङ गुरुङ, मंगल बिकलगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । 
भेटघाट तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख सल्लाहकार सिताराम थापाले सुमधुर स्वरका धनी, कला र गलाले सम्पन्न एक शालीन र बहुआयामिक वरिष्ठ गायकलाई प्रवासमा सम्मान गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । 
लोक स्वर सम्राट परियारले प्रवासमा रहँदा पनि लमजुङ सेवा समाज कतारले आफूलाई गाउँघरकै माया र सम्मान दिएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले आफ संसारको जुनसुकै कुनामा गए पनि आफ्नो जन्मभूमि लमजुङ र लमजुङको माटोलाई कहिल्यै भुल्न नसकिने बताउनुभयो । संस्थाका अध्यक्ष विनोदप्रसाद बसौलालेको अध्यक्षतामा भएको कार्यक्रममा महिला उपाध्यक्ष कमला गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रशान्त कुमालले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस