आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

साइप्रस पुगेका लमजुङकी एक युवती मृत अवस्थामा फेला

घरेलु कामदारको रुपामा साइप्रस पुगेका लमजुङकी एकजना युवती मृत अवस्थामा भेटिएकी छन् ।
गोरखाको सिराञ्चोक माइत भइ बेंसीशहर नगरपालिका ५, नाल्मा स्यारे कलाँतुँ घर भएकी अनिता गुरुङ लिमासोल सहरस्थित आफैं बस्दै गरेको कोठामा असार २५ गते बिहान अचेत अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि अस्पताल लानेवित्तिकै डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
वडाअध्यक्ष इन्द्रबहादुर गुरुङले अनिता गुरुङको निधनबारे गाउँ परिवारमा खबर आइसकेको जानकारी दिनुभयो । अनितामा श्रीमान् अमृत गुरुङ भने हाल साउदी अरबमा रहेको गाउँलेले बताएका छन् ।
युवतीले विष सेवन गरेको आशंका गरिए पनि पुष्टि हुन नसकेको र पोस्टमार्टमको रिपोर्ट कुरिरहेको नेपाली अवैतनिक वाणिज्य दूतावास निकोसिया कार्यलयले जनाएको छ । पोस्टमार्टम सकिएपछि पक्रिया पूरा गरी शव नेपाल पठाइने कार्यालयले जनाएको छ ।
अनिताको मृत्युपछि साइप्रसका नेपाली समाजमा निकै टिकाटिप्पणी भइरहेको मृत्यु हुनुपूर्व १ जना पुरुष साथीसँग टिकटकमा भावुक कुरा लेखेर २ वटा भिडियो पोष्ट गरेको देखिएको छ । ती पुरुषलाई साइप्रस प्रहरीले २४ घण्टा हिरासतमा राखेर सोधपुछपछि छोडेको छ । यथार्थ विवरण भने आउन बाँकी रहेको छ ।
ती युवतीको शवलाई नेपाल ल्याउने तयारी भइरहेको छ । उनका आफन्तहरु हाल काठमाडौंमा रहेकाले काठमाडौंबाटै पहल गरिरहेको गाउँलेले बताएका छन् । 
 

प्रतिकृया दिनुहोस