युवा आर्थिक उत्थानशील परियोजनाद्वारा करिब ६७ लाख खर्च
ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) को युथा आर्थिक उत्थानशील परियोजनाले चालु आर्थिक वर्षमा ६८ लाख ८८ हजार १ सय ४ रुपैयाँ खर्च गरेको छ ।
२०२३ जुलाई १६ बाट २०२५ जुलाई १५ तारिखसम्म परियोजना अवधि रहेकोमा चालु आर्थिक वर्षमा ७४ लाख ५५ हजार ७ सय रुपैयाँ बजेट प्राप्त भएको थियो ।
बेंसीशहर नगरपालिका ३, काउलेपानीमा शनिबार आयोजित पालिकास्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा आरसीडीसीका अध्यक्ष राजेन्द्र बोहराले परियोजनाको हालसम्म कार्यान्वयन गरिएका योजना र बजेटबाट प्रस्तुति राख्नुभएको थियो ।
उहाँले चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमध्ये हालसम्म ५ लाख ६७ हजार ५ सय ९६ रुपैयाँ बाँकी रहेको र बजेट कार्यान्वयन हुने क्रममै रहेको जानकारी दिनुभयो । उहाँका अनुसार कर्क इन एक्टी नेदरल्याण्डको सहयोग र कोर्डेडको समन्वयमा युवा आर्थिक उत्थानशील परियोजना सञ्चालन भइरहेको बताउनुभयो ।
युवा आर्थिक उत्थानशिल परियोजनाले लमजुङका ५ वटा स्थानीय तहमा काम गर्दै आएको छ । विशेषगरी विदेशबाट फर्किएर स्वदेशमा कृषि क्षेत्रमा लागेका युवाहरु, साना किसान, महिलालाई लक्षित गर्दै परियोजनाले आफ्ना कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
परियोजनाले सुन्दरबजार नगरपालिका ५ गहते र बागेडाँडा, बेसीशहर नगरपालिका २ चिसापानी र वडा नं. ३ काउलेपानी, दोर्दी गाउँपालिका ९ को हिलेटक्सार क्षेत्र साथै वडा नं. ७ लप्सीबोट, मर्स्याङ्दी गाउँपालिका १ घनपोखरा सेने, क्व्होलासोथर गाउँपालिका १ बाग्लुङपानी क्षेत्र र वडा नं. ३ घलेगाउँमा परियोजना सञ्चालन गरिरहेको छ । परियोजनाले मौरीपालन, गोलभेडा खेती, च्याउ खेती र बेमौसमी काउली र बन्दा खेतीलाई प्रवद्र्धन र व्यवसायिकरण गर्ने योजना सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङ शाखाका निवर्तमान अध्यक्ष आशबहादुर गुरुङ र बेसीशहर नगरपालिका कृषि शाखाका प्राविधिक सहायक सोभित सुयलले गत असार १७ र १८ गते परियोजना अन्तर्गत रहेका योजनाहरु अनुगमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । परियोजना अन्तर्गत रहेका हिलेटक्सार क्षेत्रमा मौरीपालन, काउलेपानीमा च्याउ खेती, बाग्लुङपानी र रापासिङमा मौरीपालन, कपुरगाउँमा गोलभेडा खेती, घलेगाउँको च्याउ खेती, घलेगाउँ दलित वस्तीमा बेमौसमी काउली र बन्दा खेतीलगायतको अनुगमन गरिएको थियो ।
वैठकको समापन गर्दै सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले स्थानीय तह तथा नीजि क्षेत्र साथै गैरसरकारी संस्थाहरुले कृषि प्रवद्र्धनका विभिन्न कार्यक्रम गर्दै आएको र अझ यसलाई बढावा दिएर लक्षित बर्गसम्मै पुग्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारी निकाय र गैरसरकारी निकायको साझेदारीमा गाउँमा आर्थिक उन्नतिका धेरै कामहरु गर्न सकिने बताउनुभयो ।
बैठकमा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, बेंसीशहर नगरपालिका उपप्रमुख पदमा गुरुङ, सुन्दरबजार नगरपालिका उपप्रमुख भवानी केसी, दोर्दी गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, मर्स्याङ्दी गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, क्व्होलासोथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ, परियोजना सञ्चालन भइरहेको वडाका वडाअध्यक्षहरु, कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख अजय अधिकारी, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठ, स्थानीय तहका कृषि शाखा प्रमुख तथा प्रतिनिधिहरु, आरसीडीसीका कर्मचारीलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन युवा आर्थिक उत्थानशील परियोजनाका सामाजिक परिचालक सन्तुमाया दुलाल मजाकोटीले गर्नुभएको थियो ।








प्रतिकृया दिनुहोस