आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

एसी राखेर १८ डिग्रीमा फल्ने च्याउ घलेगाउँको २३ डिग्रीमा फल्यो

क्व्होलासोथार गाउँपालिका ३, घलेगाउँका किसानले एसी प्रयोग गरेर १८ डिग्रीमा उत्पादन हुने च्याउ एसीको प्रयोग नगरी २३ डिग्रीमै फलाएका छन् । 
हेटौंडाबाट बीउ र मल ल्याएर उनीहरुले गाउँमै टनेल बनाएर चिसो ठाउँमा हुने गोब्रे च्याउ फलाएका हुन् । ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) को युवा आर्थिक उत्थानशील परियोजनामार्फत गाउँका युवा कृषकहरुले च्याउ फलाएका हुन् ।
घलेगाउँका ८ जना कृषक मिलेर घलेगाउँ सामुदायिक कृषि फर्म स्थापना गरी गाउँ नजिकै ‘गाँडस्यो उ’ भन्ने ठाउँमा २ वटा टनेल राखेर च्याउ खेती गरेका हुन् । एउटा टनेलमा ६० वटा प्लाष्टिकमा मल प्रयोग गरी गोब्रे च्याउ खेती गरिएकोमा उत्पादन दिन थालेको फर्मका सविच दीपक गुरुङले जानकारी दिनुभयो । उक्त च्याउ पर्यटकलाई खुवाउनेदेखि लिएर कोसेली पठाउने गरिएको छ । उक्त च्याउ प्रतिकिलो ६ सय रुपैयाँमा विक्री गर्ने उनीहरुले बताएका छन् ।
कटुसको मुढामा लगाएको च्याउ भने उत्पादन हुने समय नभएको किसानहरुले बताएका छन् । उनीहरुले ६ सय ५० वटा मुढा ल्याएर टनेलमा सिताके च्याउको खेती थालेका छन् । एउटा मुढामा ३० किलोसम्म च्याउ फल्ने कृषि प्राविधिकहरु बताउँछन् । यो च्याउलाई स्थानीयले प्रतिकिलो ८ सय रुपैयाँसम्म विक्री गर्ने बताएका छन् ।
च्याउ खेतीका लाग आरसीडीसी–युवा आर्थिक उत्थान परियोजनाले करिब ५ लाख रुपैयाँ सहयोग गरेको परियोजनाका वित्त अधिकृत तुलानीधि दनाईंले बताउनुभयो । उहाँका अनुसार  फलामे पोल, प्लाष्टिक, जाली, बाँस, बीऊ, मललगायत परियोजनाले सहयोग गरेको छ । 
फार्मका अध्यक्ष हर्क घलेले च्याउ टनेलको सुरक्षार्थ वरिपरि तालजाली लगाइएको बताउनुभयो । टनेल निर्माणदेखि तारजाली लगाउने कार्य कृषकले श्रमदानबाट गरेको उहाँले बताउनुभयो । च्याउ खेतीका लागि आरसीडीसी–युवा आर्थिक उत्थाशील परियोजनाले ८० प्रतिशत र कृषकले २० प्रतिशत लगानी गरेका छन् ।
युवा आर्थिक उत्थानशील परियोजना प्रमुख सुजाता पौडेलले विशेष गरी युवा, विदेशबाट फर्किएका, महिला तथा साना किसानहरुको क्षेत्रमा परियोजना सञ्चालनमा रहेको छ । उनीहरुको आर्थिक स्थिति सुधार्न तथा आयआर्जनको लागि सहयोग गरिएको उहाँले बताउनुभयो । घलेगाउँमा गरिएको च्याउ खेतीबारे एकसाता अघि अनुगमन समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस