घलेगाउँका दलित समुदायद्वारा बेमौसमी काउली र बन्दा खेती
क्व्होलासोथार गाउँपालिका ३, घलेगाउँका दलित समुदायले बर्खायामको समयमा बेमौसमी काउली र बन्दाको खेती गरेका छन् ।
खेर गइरहेको खेतबारी, मकै र कोदो कम हुने तथा पाखोबारीलाई सम्याएर दलित समुदायले काउली र बन्दाको खेती गरेका हुन् ।
आउँदो असोजदेखि घलेगाउँमा पर्यटकको भीड हुने र पर्यटकलाई लक्षित गरी उनीहरुले काउली र बन्दा खेती थालेका हुन् । बारीमा फलेको काउली र बन्दा होमस्टेमा पु¥याइने र आर्थिक उपार्जन गर्ने उद्देश्य रहेको क्व्होलासोथार गाउँपालिका ३ का वडा सदस्य समेत रहनुभएका दलित अगुवा पार्वती विकले बताउनुभयो । काउली र बन्दा खेतीका लागि उनीहरुले जय उत्तरकन्या कृषि समूह गठन गरेका छन् ।
समूहका कोषाध्यक्ष समेत रहनुभएका तारादेवी बि.क. ले काउलीको २ सय ५५ बिरुवा रोपेको बताउनुभयो । सदस्य जालुमाया विकले काउली र बन्दा गरेर डेढसय विरुवा रोपेको बताउनुभयो । परम्परागत रुपमा मकै, कोदो र धान खेती गर्दै आउनुभएका उहाँले पनि जग्गा व्यवस्थापन गरी हिउँदमा फल्ने काउली बन्दालाई बर्खायाममा रोपेको बताउनुभयो । घलेगाउँको दलित वस्तीका ३० घरपरिवार सवैले बेमौसमी काउली र बन्दाको बेर्ना रोपेका छन् ।
कृषक समूहका सदस्यले कम्तिमा ८० देखि ४ सय गोटासम्म काउली र बन्दाको बेर्ना लगाएका छन् । अहिले लगाएको काउली र बन्दा असोज कार्तिकमा फल्ने किसानहरु बताउँछन् । स्थानीय केशव बि.क.ले काउलीको ३ सय बेर्ना रोपेको बताउनुभयो ।
कृषि समूहका अध्यक्ष झविलाल बि.क. आफैंले काउली र बन्दा गरी ३ सय ५० गोटा विरुवा रोपेको बताउनुभयो । समूहले गाउँमा ३ रोपनी भन्दा बढी जग्गामा ३ हजार ५ सय बढी काउली र बन्दाको बेर्ना रोपेको उहाँले बताउनुभयो । उहाँका अनुसार मकैबाली र कोदो राम्रो नहुने घर नजिकैका खेतहरुमा काउली र बन्दा रोपिएको छ । केहीले मकै र कोदो फल्ने खेतमै काउली र बन्दाको खेती गरेका छन् ।
गाउँलेलाई काउली र बन्दाको बेमौसमी खेतीका लागि ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) को युवा आर्थिक उत्थानशील परियोजनाले सहयोग गरेको छ । काउली र बन्दाको बीउ १४ प्याकेटसहित प्राविधिक सहयोग गर्दै आएको परियोजनाका लेखा अधिकृत तुलानीति दनाईंले बताउनुभयो । उहाँका अनुसार पर्यटकीय गाउँ भएकाले पर्यटकलाई लक्षित गरी दलित समुदायको आयआर्जनमा सहयोग पु¥याउन संस्थाले सहयोग गरेको हो । प्राविधिक सहयोगका लागि परियोजनाले उक्त क्षेत्रमा जेटीए (नायव प्राविधिक सहायक) विष्णुबहादुर कुँवर क्षेत्रीलाई खटाएको छ ।
आरसीडीसीको युवा आर्थिक उत्थानशील परियोजना संयोजक सुजाता पौडेलले दलित समुदायका अधिकांश युवालाई समेट्दै घलेगाउँका दलित समुदायलाई बेमौसमी काउली र बन्दा खेती गर्न प्रेरित गरिएको बताउनुभयो बताउनुभयो । बेमौसममा गरिएको खेती सफल नहुन सक्ने भन्दै गाउँमै परीक्षणको रुपमा नमुना खेती समेत गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार नमुनाको रुपमा गरिएको खेतीको अवस्था हालसम्म राम्रै रहेकाले काउली र बन्दा राम्रै फल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । बेंसीशहर नगरपालिका कृषि शाखा कृषि प्राविधिक सहायक सोवित सुयलले घलेगाउँमा गरिएको बेमौसमी काउली र बन्दा खेती सफल भएमा यसले सवैलाई फाइदा पुग्ने बताउनुभयो । यसका लागि मौसम, मल, स्यहारसुसार गर्नुपर्ने र किराबाट जोगाउनुपर्ने उहाँले बताउनुभयो ।








प्रतिकृया दिनुहोस