आज : Tuesday, September 08, 2026 | २०८३ भदौ २३ मंगलबार

क्व्होलासोथार कपुरगाउँका किसान गोलभेडा खेतीतर्फ आकर्षित

क्व्होलासोथर गाउँपालिका १ कपुरगाउँका किसानहरु व्यावसायिक गोलभेडा खेतीमा आर्कषित हुन थालेका छन् ।
परम्परागत खेती गरिरहेका किसानलाई ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) ले सहयोग गरेसंगै उनीहरु गोलभेडा खेतीतर्फ आकर्षित भएका हुन् । आरसीडीसीको युवा आर्थिक उत्थानशील परियोजनाको सहयोगमा कपुरगाउँ सिर्जनशील समूह गठन गरी स्थानीयले गोलभेडा खेती गरेका हुन् । आरसीडीसीले गोलभेडा खेतीका लागि बीउ, प्लाष्टिक टनेल, जोख्ने तराजु साथै प्राविधिक सहयोग गरेको परियोजनाका लेखा अधिकृत तुलानीति दनाईंले बताउनुभयो ।
कपुरगाउँका ७ जना सम्मिलित कृषक समूहले गोलभेडा खेती गरेको कपुरगाउँ सिर्जनशील कृषक समूहका अध्यक्ष भूपालबहादुर गुरुङले बताउनुभयो । उहाँले वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमा ४ वटा टनेलबाट गोलभेडा खेती गर्दै आएको बताउनुभयो । गतवर्ष २ वटा टनेलमा गोलभेडा खेती गरेकोमा यसवर्ष आरसीडीसीले सहयोग गरेपछि ४ वटा टनेलमा गोलभेडा खेती गरेको उहाँले बताउनुभयो । गतवर्ष टनेलमा गरिएको गोलभेडा खेतीबाट ५० हजार रुपैयाँ आम्दानी गरेको उहाँले बताउनुभयो ।
कपुरगाउँस्थित क्युम्रुतो टोलका ३० वर्षिय सागर गुरुङले विद्यालयमा पढाउँदै बारीमा गोलभेडा फलाउनुभएको छ । आधुनिक प्रविधिको प्रयोग गरी तरकारी तथा गोलभेडा खेती गर्दा यसले आर्थिक उपार्जन हुने देखिएको उहाँले बताउनुभयो । कृषिसम्बन्धि सीप र ज्ञान भएमा गोलभेडा खेतीबाट आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । 
कपुरगाउँ सिर्जनशील समूहमा दलित युवा आवद्ध भएर उनीहरुले पनि गोलभेडा खेती गरेका छन् । २६ वर्षिय सरोज वि.क, २३ वर्षिय अतित वि.क र २१ वर्षिय किसान वि.कलगायत युवाले गाउँमै बसेर गोलभेडा फलाएका छन् । आरसीडीसीको युवा आर्थिक उत्थानशील परियोजना संयोजक सुजाता पौडेलले गोलभेडा खेतीबाट कृषकहरुले थप व्यावसायिक तथा आर्थिक उपार्जनका लागि सहयोग गरिएको बताउनुभयो । 
कपुरगाउँमा आरसीडीसीको युवा आर्थिक उत्थानशील परियोजना अन्तर्गत गरिएको सहयोगबारे अनुगमन टोलीले मंगलबार अनुगमन गरेको छ । आरसीडीसीका बोर्ड सचिव सोमबहादुर विक, युवा उत्थानशील परियोजना संयोजक सुजाता पौडेल, लेखा अधिकृत तुलानीधि दनाईं, बेंसीशहर नगरपालिका कृषि शाखा कृषि प्राविधिक सहायक सोवित सुयल, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका निवर्तमान अध्यक्ष एवं कान्तिपुर दैनिक संवाददाता आश गुरुङलगायतको उपस्थिति थियो ।
 

प्रतिकृया दिनुहोस