आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

माथिल्लो मस्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको उत्पादन बन्द

मर्स्याङ्दी नदीमा आएको अत्याधिक बाढीका कारण ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ ।
मर्स्याङ्दी गाउँपालिका ७, ङादीमा रहेको बाँधले मस्याङ्दीमा आएको बाढी थेग्न नसक्ने भन्दै बाँधको ३ वटै ढोका खोलेर विद्युत उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार ढुंगामुढा र बालुवा बगाएर ल्याएपछि ड्यामले थेग्न नसक्ने र ड्याममा क्षति पुग्ने भन्दै विद्युत उत्पादन बन्द गरेर बाढीलाई नदीको धारमा बग्न दिइएको हो । बाढी आएपछि नदीको बहाव स्थीर नहुने र संरचनामै क्षति पुग्ने डरले विद्युत उत्पादन बन्द गरिएको आयोजनामा कार्यरत एक कर्मचारीले बताएका छन् ।
प्रवर्द्धक सिनोहाइड्रो–सगरमाथा पावर कम्पनी प्रालिले बाँध क्षेत्रमा बालुवा जमेको भन्दै यसलाई हटाउन आइतबार बिहान ९ बजदेखि दिउँसो १ बजेसम्म आयोजनाबाट विद्युत उत्पादन बन्द गर्ने सूचना जारी गरेको थियो । आयोजनाको बाँधक्षेत्रबाट नदीतर्फ सबै पानी छाड्नुपर्ने भएकोले उक्त समयमा नदीमा पानीको बहाब अधिकतम पुग्नसक्ने भन्दै मर्स्याङ्दी गाउँपालिका ६, ७, ८, ३ र ९ तथा आसपासका क्षेत्रमा नदीमा गएर माछा मार्ने, नदी तर्ने, बालुवा निकाल्ने, दाउरामुढा संकलन गर्ने वा अन्य गतिविधि नगर्न भन्दै सूचना आह्वान गरेको थियो ।
तर, अविरल वर्षाका कारण मर्स्याङ्दीमा पानीको बहाव बढेपछि आयोजनाले शनिबार नै आयोजनाको विद्युत उत्पादन बन्द गरेको हो । आयोजनाले यसअघि पनि बाँध क्षेत्रमा बालुवा जमेको भन्दै आयोजनाको उत्पादन बन्द गरेर बालुवा बगाउने कार्य गर्दै आएको थियो । मर्स्याङ्दी गाउँपालिका ७ का वडाअध्यक्ष तिलबहादुर गुरुङले बाँधबाट सवै पानी छोड्दा पनि आयोजनाले साइरन नबजाएको भन्दै साइरन बजाउन लगाएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले अत्याधिक बाढीका कारण माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाले उत्पादन बन्द गरेको जानकारी प्राप्त भएको बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस