लमजुङको बेंसीशहरमा नेवारी कन्याको सामूहिक बेलविवाह
लमजुङको बेंसीशहरमा सामुहिक बेल विवाह (इही) गरिएको छ । नेवार समुदायमा बालिका रजश्वला नहुँदै बेलसँग विवाह गर्ने प्रचलन अनुसार कन्याको बेल विवाह गरिएको हो ।
बेंसीशहरको फूलबारी मञ्चमा शुक्रबार र शनिबार २ जना कन्याको नेवारी परम्परा अनुसार सामुहिक बेल विवाह गरिएको हो । मञ्चमा जग्गे बनाएर बेलसंग विवाह गराएर नारायणस्थान मन्दिर घुमाइएको थियो ।
बेलसंग २ जनामात्रै कन्याको विवाह भए पनि आफन्त, इष्टमित्र तथा छिमेकीहरुको सहभागिताले विवाहको निकै रमझम थियो । बेल विवाह गर्ने बालिका दिनभरी व्रत बसेर कलश, बज्र, चक्रसहित बेल घुमेर पूजा गरिएको थियो । बावुको घरमै छोरी रजस्वला भए बाबुलाई दोष लाग्ने नेवार समुदायमा विश्वास रहेकाले रजस्वला अगावै बेलसंग विवाह गरिदिने प्रचलन रहेको छ ।
नेवाः मिसा दबू, जिल्ला समिति लमजुङको आयोजनामा सामूहिक बेल विवाह (इही) गरिएको हो । नेवार समुदायमा बेलविवाहपछिमात्रै कन्यालाई गुफा राख्ने चलन रहेको छ । सामुदायिक एकता र सामुहिक सहकार्यका लागि कन्यालाई संगै राखेर बेल विवाह गरिदिने प्रचलन अनुसार सामूहिक बेल विवाहको आयोजना गरिएको नेवाः मिसा दबू, जिल्ला समिति लमजुङका अध्यक्ष शान्ति श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार परम्पराको संरक्षण र संवद्र्धन गर्न सामूहिक बेल विवाहको आयोजना गरिएको हो ।
यसवर्ष बेंसीशहर नगरपालिका ८, प्रशासन चोककी स्मेरा श्रेष्ठ र बेंसीशहर नगरपालिका ७, पुरानो बैंक चोकका जेनिशा श्रेष्ठको बेलविवाह गरिएको हो । यसअघिका वर्षहरुमा सामुहिक ब्रतबन्ध समेत गरिएकोमा यसवर्ष लगन नजुरेकाले सामुहिक ब्रतबन्ध भने नगरिएको उहाँले बताउनुभयो । बेलविवाहका लागि काठमाडौंबाट नेवारी पण्डित नवीन राजोपाध्यायदम्पत्ति आउनुभएको थियो । बेलविवाहपछि कन्यालाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।
नेवार समुदायमा परम्परा अनुसार छोरीको बेल, सूर्य र मानिससँग गरी ३ पटक विवाह हुने गर्दछ । बेल विवाह गर्नुको अघिल्लो दिन मिठो खानेकुरा कन्याहरुलाई दिने प्रचलन छ । विवाहको दिन नुन हालेको परिकार खान नदिई चोखो खानेकुरा मात्र दिने चलन रहेको छ । बेलसँग विवाह भएपछि बिजोर वर्षमा १२ दिनसम्म गुफामा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराइन्छ ।








प्रतिकृया दिनुहोस