सकसपूर्ण जीवन विताउँदै धमिलिकुवा पौवाटोलका भूमिहीन दलित समुदाय
राइनास नगरपालिका ६ धमिलिकुवा पौवा टोलका भूमिहीन दलित समुदायको सकसपूर्ण दैनिकी र अन्यौलग्रस्त जीवनयापनका बारेमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन।
सो वस्तीका बासिन्दालाई दैनिक जीवनयापन, बालबालिकाको लालनपालन, शिक्षाआर्जन र स्वास्थ्योपचार जस्ता विषयमा समस्या झेल्दै आएका पौवा बासीको अवस्था बारे स्थानीयतह देखि सामाजिक संघसंस्था र माथिल्लो तहका सरकार सबै बेखवर छन्।
अधिकांश बासिन्दा राइनासकै प्यारजुङ र केही परिवार सुन्दरबजारको कुन्छाबाट त्यहाँ गएर सार्वजनिक जग्गामा बसोबास गर्दै आएको बुझिएको छ । १३ घरपरिवार रहेको पौवा बासीको घरबास र खेतीपातीका लागि आफ्नै जग्गा छैन भने घर समेत सुरक्षित र व्यवस्थित छैनन् । कमाई गरिखाने जमिन नभएकै कारण कृषि उत्पादन र पशुपालनमा अघि बढ्न नसकिएको र त्यसकारण राम्रो कमाई गर्न समेत नसिकएको अगुवा महिला विष्णुमाया परियार बताउनुहुन्छ । कसैको पनि नियमित रोजगारी नभएको हुँदा मेलापातकै भरमा खानपान र लालनपालन गर्दै उहाँले बताउनुभयो । कसैले अधिँया खेती गर्दै आएको भएपनि त्यसले लामो समय नपुग्ने हुँदा किनेरै खानुपर्ने वाध्यता रहेको छ । नियमित आम्दानी र राम्रो स्रोत नभएकाले उनीहरुले जहिल्यै आर्थिक अभाव भोग्नु परेको छ । भूमिहीनको समस्या र वस्ती व्यवस्थापन जस्ता समस्या समाधान प्रति वडा, नगरपालिका वा त्यस भन्दा माथिल्लो निकायको चासो नदेखिएकोमा उनीहरु दुःखी छन् ।
व्यक्तिगत पहलमा सो वस्तीको अवस्था वुझ्नकै लागि केहीदिन अघि राईनास नगरपालिकाका योजना अधिकृत पूर्णबहादुर नेपाली र स्थानीय शैलपुत्री माविका शिक्षक सोमराज चिलुवाल त्यहाँ पुगेका थिए । अधिकृत नेपालीले आर्थिक अवस्था सवल नभएको, बालबालिका नियमित रुपमा विद्यालय नजाने र बालविवाह मुख्य समस्या रहेको बताउनुभयो । उहाँका अनुसार विद्यालय जाने उमेरका ३० जना रहेका र ९ कक्षा माथि पढ्ने कोही छैनन् । अधिँया खेतीपाती गर्ने, बाख्रा, सुँगुर वँगुर पाल्ने गरेरै जीविकोपार्जन गर्दै आएको र पछिल्लो समय महिलाहरुले पञ्चेबाजा बजाउने सीप विकास गर्दै आएको उहाँको भनाइ छ । सो अवसरमा बालबालिकाहरुको शैक्षिक अवस्था सुधार तथा अभिभावकहरुको आयआर्जन विकासका लागि बैकल्पिक आधारहरुको बारेमा छलफल गरिएको उहाँ बताउनुहुन्छ ।
यस विषयमा नगर कार्यपालिकामा पनि कुरा राख्ने र उनीहरुको आवश्यकता पहिचान गरि सोही अनुरुप कार्यक्रम निर्माण गर्ने तर्फ आफ्नो पहल रहने पनि नमुनोन्मुख विरौटा वस्तीका अगुवा समेत रहेका अधिकृत नेपालीले बताउनुभयो । महिला पञ्चेबाजा समूह निर्माण, बाख्रा, सुँगुर, वंगुरपालन, तरकारी खेती र घर आँगन र वरिपरीको सरसफाई, फूलको सानो बगैंचा निर्माण जस्ता राम्रा प्रयास स्थानीयले गर्दै आएको शेलपुत्री माविका शिक्षक सोमराज चिलुवालले बताउनुभयो ।
सो वस्तीका लागि धेरै ठूला योजना र कार्यक्रम गर्न नसकिए पनि गतसाल पञ्चेबाजा खरिदमा सहयोग गरिएको, बिजुलीको पोल उपलव्ध गराईएको र गल्लीमा ढुंगा छाप्ने काम भएको सो वडाका अध्यक्ष गोविन्द चिलुवालले बताउनुभयो । सो वस्तीका विद्यार्थीले विद्यालय छाड्ने क्रम बढ्दो देखिएकाले अव शैक्षिक सहयोगको कार्यक्रम गर्ने सोच बनाइएको र त्यसलाई कार्यान्वयन गराएरै छाड्ने पनि उहाँले बताउनुभयो ।








प्रतिकृया दिनुहोस