आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

शिक्षणमा ३३ वर्ष विताएका रतनसिंह गुरुङको सतुवा खेती

क्व्होलासोंथार गाउँपालिका ६, पसगाउँका रतनसिंह गुरुङ शिक्षण पेशाको अवकासपछि कृषि कर्ममा तल्लीन हुनुभएको छ ।
उहाँले गाउँको आफ्नै जग्गामा सतुवा खेती सुरु गर्नुभएको छ । गाउँमै रहेको पसगाउँ ठाँटी माविमा ३३ वर्ष शिक्षण पेशामा रहनुभएका उहाँले २०७८ मंसिर १ गते अवकाश लिनुभएको हो । त्यसपछि उहाँ कृषि कर्ममा तल्लीन हुनुभएको हो ।
गाउँकै आफ्नो करिब १ रोपनी जग्गामा उहाँले सतुवाको २ हजार ५ सय विरुवा रोप्नु भएको छ । उहाँले २ वटा ग्रीन टनेल बनाएर सतुवा रोप्नुभएको हो । सतुवा उम्रिएर हुर्कने क्रममा रहेको र यसले ३ वर्षपछि फल दिने उहाँले बताउनुभयो ।
डिभिजन वन कार्यालय लमजुङले उहाँलाई प्रति विरुवा ४५ रुपैयाँका दरले अनुदान दिएको छ । अनुदानबाट प्राप्त सतुवाको बेर्नालाई उहाँले गाउँमै ग्रीन टनेल बनाएर सतुवा रोप्नु भएको हो । चर्को घाम र असिनाबाट बचाउन ग्रीन टनेल निर्माण गर्नुपरेको उहाँले बताउनुभयो । उहाँले डेढलाख रुपैयाँ लगानीमा सतुवा खेती थालेको बताउनुभयो ।
पसगाउँ घर समेत रहेको क्व्होलासोंथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले गाउँका वासिन्दा पछिल्लो समय नगदेबाली तर्फ आकर्षित भएको बताउनुभयो । उहाँका अनुसार केही वर्षअघि अलैंची खेतीमा आकर्षित भएका गाउँले किसानहरु हिजोआज सतुवा खेतीतर्फ आकर्षित भएका छन् ।
डिभिजन वन कार्यालय प्रमुख डिभिजनल वन अधिकृत पूर्णेश्वर सुवेदीले एउटा विरुवालाई ४५ रुपैयाँ अनुदानमा किसानलाई सहयोग गरिएको बताउनुभयो । प्रतिकिलो सतुवा २५ हजार रुपैयाँमा विक्री हुने भएकाले यसबाट किसानले लाभ लिन सक्ने भएको हुँदा किसान सतुवा खेतीतर्फ आकर्षित भएको उहाँले बताउनुभयो । उहाँले लमजुङको क्व्होलासोंथार, मस्र्याङ्दी गाउँपालिका र बेंसीसहर नगरपालिकाको ग्रामीण क्षेत्रमा सतुवा खेती सुरु गरिएको बताउनुभयो ।
पसगाउँमा रतनसिंह गुरुङले गरेको सतुवा खेतीका डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत सुवेदीसहितको टोलीले अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष गुरुङ, वडाअध्यक्ष मनलाल गुरुङ, डिभिजन वन कार्यालयका फरेष्टर गुणबहादुर ग्लान, क्व्होलासोंथार गाउँपालिका ७, घाम्राङका जडिबुटी किसान गमप्रसाद गुरुङ लगायतको उपस्थिति थियो ।
 

प्रतिकृया दिनुहोस