आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

गोविन्द गुरुङको आवाजमा ‘जान्दिन हे प्रियसी’ सार्वजनिक

बैंकिङ क्षेत्रमा छुट्टै पहिचान जमाउन सफल गोविन्द गुरुङको आवाजमा ‘जान्दिन हे प्रियसी’ बोलको गीत सार्वजनिक भएको छ ।
राष्ट्र कवि माधवप्रसाद घिमिरेले लेख्नुभएको उक्त गीतलाई बीबी अनुरागीको संगीतमा गुरुङले आवाज भर्नुभएको हो । कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको आवाजमा सजिएको उक्त गीतको म्युजिक भिडियो बीबी अनुरागीको युट्युब च्यानलमार्फत मंगलबार साँझ सार्वजनिक भएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका ८, भंगेरी गाउँ घर भएका गोविन्द गुरुङले म्यानमार सिटिजन्स् बैंक, यंगुन, म्यानमार (बर्मा) बाट फर्किएपछि आफ्नो आवाजमा पहिलो भिडियो सार्वजनिक गर्नुभएको हो । उहाँले म्यानमारमा रहँदा ‘मनको भारी’ म्युजिक भिडियो सार्वजनिक गर्नुभएको थियो । उहाँले थुप्रै नेपाली तथा गुरुङ गीतमा आवाज दिनुभएको छ ।
‘स्ट्यान्ट म्युजिक भिडियो’ लाई मिराज अर्याल र दिनेश विष्ट छायांकन गर्नुभएको छ र मिराज अर्यालले नै सम्पादन र कल भर्नुभएको छ । गीत भने प्रिज्म स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो ।
संगीतकार बीबी अनुरागीले राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको रचनामा आफूले संगीत गरेको यो दोस्रो गीत रहेको बताउनुभएको छ । करीब ४ बर्ष अघि गरिएको संगीत सुनेर राष्ट्रकवि निकै खुसी भएको उहाँले बताउनुभएको छ । यस गीतका लागि गोविन्द गुरुङले पहल गर्नुभएको थियो । ‘किन्नर किन्नरी’ गीति संग्रह भित्र रहेको यो गीतलाई पूर्ण रुपमा सुन्न नपाउँदै राष्ट्रकविको स्वर्गारोहण भएको उहाँले बताउनुभएको छ । उहाँका अनुसार राष्ट्र कवि घिमिरेका २ छोराहरु ईन्दिवर घिमिरे र राजीव घिमिरेको समन्वयमा उक्त गीत निर्माण गरिएको हो । 
राष्ट्रकविको ईच्छा वमोजिम यस गीतलाई युगल भर्सन र महिला भर्सन पनि लोकप्रिय गायिका रचना रिमालको आवाजमा रेकर्डिङ कार्य सम्पन्न भइसकेको संगीतकार अनुरागीले बताउनुभएको छ । 
 

प्रतिकृया दिनुहोस