आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

तमू ह्युला छोंज धींद्धारा प्रजिअ पुरीको स्वागत

तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् लमजुङले नव आगन्तुक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीलाई स्वागत एवं सम्मान गरेको छ । 
ऐतिहासिक तमू संग्राहलय भवन बेसीशहरमा सोमबार एक कार्यक्रमका आयोजना गरी तमु समुदायले प्रजिअ पुरीलाई स्वागत गरेको हो । गुरुङ जातिको बाहुल्य रहेको जिल्लामा गुरुङहरुको पहिचान, संस्कार र संस्कृतिका विषयमा जानकारी गराउने उद्देश्यले स्वागत तथा सम्मान गरिएको तमू ह्युला छोँज धीं जिल्ला अध्यक्ष जीवराज घलेले बताउनुभयो । जिल्लामा आउने प्रमुख जिल्ला अधिकारीलाई नियमित रुपमा स्वागत गर्ने गरिएको घलेले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीसंगको स्वागत, भेटघाट तथा सम्मानले प्रशासनिक काम गर्ने दौरानमा हुने समस्या समाधान गर्न सहज हुने र एक आपसमा परिचित हुने अवसर मिलेको घलेले बताउनुभयो । 
कार्यक्रममा गुरुङहरुको संस्कार संस्कृति, रीतिथिति, चालचलन, चाडपर्व लगायतको बारेमा उपाध्यक्ष क्याप्टेन मिलबहादुर गुरुङले जानकारी गराउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी पुरीले लमजुङमा ३१ प्रतिशत गुरुङ समुदायको बसोबास रहेको बताउनुभयो । गुरुङ समुदायका अधिकांश व्यक्ति भारतीय सेना, नेपाली सेना तथा अन्य मुलुकको सेनामा कार्यरत रहेकोमा उक्त सेवा निवृत्तपछि कागजपत्र मिलाउने लगायतका समस्या लिएर सेवाग्राही आउने गरेको र आफूले सहज रुपमा सेवा प्रवाह गर्दै आएको बताउनुभयो । कानुनको अधिनमा रहेर सहज तरिकाले सेवा प्रदान गर्ने आफ्नो दायित्व रहेको उहाँले बताउनुभयो । 
तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् लमजुङका अध्यक्ष जीवराज घलेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष खजेन्द्रबहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव गणेश गुरुङले गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस