ईशानेश्वर महादेव मन्दिरमा ६ सय बढीले ठाडाबत्ती बाले
काठमाडौंको पशुपतिनाथपछि शिवरात्रीमा बढीमात्रामा घुइँचो लाग्ने मध्यनेपाल नगरपालिका ७, करापुटारको ईशानेश्वर महादेव मन्दिर परिसरमा ६ सय ३५ जना भक्तजनले ठाडाबत्ती बलेका छन् ।
ईशानेश्वर महादेव मन्दिरमा शिवरात्रीको रातभर उभिएर ठाडाबत्ती बालेमा सन्तान सुख तथा छोरा वा छोरी प्राप्त हुने विश्वास रही आएको छ । ईशानेश्वर मन्दिर क्षेत्र विकास समितिले निर्माण गरेको धर्मशालामा उभिएर ठाडाबत्ती बाल्ने व्यवस्था गरिएको छ । तर, धर्मशाला बाहिर आफैं टहरा बनाएर ठाडाबत्ती बालेका छन् । बसेर बत्ती बाल्नेको संख्या असंख्य रहेको र अनुमान मात्रै गर्न सकिने समितिका अध्यक्ष रामचन्द्र घिमिरे (शास्त्री) ले बताउनुभयो ।
सन्तान सुख साथै विभिन्न मनोकामना पूरा हुने विश्वासमा रातभर बसेर बत्तीबाल्ने चलन रही आएको छ । रातभर बसेर बत्ती बाल्ने ५ हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । उनीहरु आफैंले मन्दिर परिसर नजिकै टहरा व्यवस्थापन गरी बसेर बत्ती बालेका कारण सवैजनाको तथ्यांक लिन नसकिएको समितिले जनाएको छ ।
ठाडाबत्ती बाल्नेसंग दर्ताबापत प्रतिव्यक्ति ५ सय रुपैयाँ र बसेर बत्ती बाल्नेसंग ३ सय रुपैयाँ मन्दिर क्षेत्र विकास समितिले लिने गरेको छ । ईमान्दार भएर दर्ता नगर्नेलाई केही गर्न नसकिने समितिले जनाएको छ ।
यसवर्ष गएका बर्षमा सन्तान सुख प्राप्तीको लागि ठाडाबत्ती बालेर गएका १६ जनाले ईशानेश्वर महादेव मन्दिरमा सन्तान देखाउन आएका छन् । समितिसंग कुनै जानकारी नगराई सन्तान देखाउन आउनेहरु अझ धेरै रहेको समितिले जनाउको छ । गएका वर्षहरुमा कोरोना संक्रमणका कारण भक्तालु घटेकोमा यसवर्ष कोरोना संक्रमणको जोखिम नभएपछि दर्शनार्थीको उपस्थिति बाक्लो रहेको मन्दिर क्षेत्र विकास समिति अध्यक्ष घिमिरेले बताउनुभयो ।
मध्यनेपाल नगरपालिका ७, करापुटारमा पर्ने ईशानेश्वर मन्दिर २ वर्षअघि १ करोड २० लाख ९० हजार २ सय ७ रुपैयाँ ६१ पैसामा पुनःनिर्माण गरिएको थियो । उक्त मन्दिरमा रातभर उभिएर बत्ती बाल्ने, सन्तान वा पुत्रलाभ भएपछि मन्दिरमा आएर महादेवलाई सन्तान देखाउने, विवाह भएको लामो समयसम्म सन्तान नभएका जोडीका साथै अन्य मनोकामना पनि पूरा हुने विश्वासले भक्तजन ठाडाबत्ती बाल्न आउने गर्छन् ।
शिवरात्री पर्व शिवालयमा भगवान शिवको पूजाआराधान गरि मनाइएको छ । लमजुङ सदरमुकाम बेंसीसहरको कर्पुरेश्वर मन्दिर, बेंसीसहर नगरपालिका ११, चिती थापाडाँडास्थित सन्तानेश्वर शिव पाञ्चायन मन्दिर, रामचोकबेंसी त्रिवेणी धामको त्रैलोक्यश्वर महादेव मन्दिर, बेंसीसहरको त्रिवेणी मन्दिर, क्वहोलासोंथार गाउँपालिका ४, भुजुङको सन्तानेश्वर महादेव मन्दिरलगायतका शिवालय मन्दिरमा पूजापाठ गरिएको छ ।








प्रतिकृया दिनुहोस