आज : Tuesday, November 17, 2026 | २०८३ मङ्सिर २ मंगलबार

सुन्दर बीउ उत्पादन सहकारीको १३औँ साधारण सभा सम्पन्न

लमजुङ । 
लमजुङको सुन्दरबजार नगरपालिका–७, पाउँदीमा रहेको सुन्दर बीउ उत्पादन सहकारी संस्थाको १३औँ साधारण सभा सम्पन्न भएको छ। कार्तिक २९ गते आइतबार आयोजित सभामा संस्थाका अध्यक्ष ज्ञानहरि ढुङ्गानाको अध्यक्षता तथा सुन्दरबजार नगरपालिका–७ का वडाध्यक्ष जयराम रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो। 

सभामा प्रमुख अतिथि रेग्मीले रैथाने तथा उन्नत जातका बीउको प्रयोग र संरक्षणमा जोड दिनुभयो। उहाँले बीउ तथा मलको व्यवस्थापनका लागि वडा र नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रयास गर्ने बताउनुभयो। नयाँ जातको धानको बीउ प्रयोग गर्दा सुरुमा थोरै क्षेत्रफलमा परीक्षण गर्नुपर्ने र उत्पादन राम्रो देखिएपछि मात्र ठूलो क्षेत्रफलमा खेती गर्नु उपयुक्त हुने उहाँको भनाइ थियो। नयाँ बीउको खेती गर्दा उत्पादन कम भएमा किसानले क्षतिपूर्ति पाउने व्यवस्था नभएकाले सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो। 

त्यस्तै, सरकारी निकायबाट प्रदान गरिने प्राविधिक तालिमको ज्ञान व्यवहारमा प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। सहकारीका सेयर सदस्यलाई संस्थाको काममा सक्रिय भएर लाग्न पनि उहाँले आग्रह गर्नुभयो। कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञानहरि ढुङ्गानाले संस्थाको आर्थिक अवस्था र भावी योजनाबारे जानकारी गराउनुभएको थियो। उहाँका अनुसार संस्थाको बैंक खातामा ७ लाख ४३ हजार २६ रुपैयाँ मौज्दात रहेको छ भने संस्थामा ३८ जना सेयर सदस्य रहेका छन्। 

कार्यक्रममा संस्थागत अध्यक्ष कृष्णप्रसाद सिलवाल, पूर्वअध्यक्ष शिवकुमार पोखरेल, पाउँदी प्रहरी चौकीका प्रमुखलगायतको विशेष उपस्थिति रहेको थियो। यस्तै, कर्मदा सिर्जना मञ्चका कार्यवाहक अध्यक्ष तथा साहित्यकार लक्ष्मीप्रसाद मिश्र, उपाध्यक्ष बुद्धिबहादुर सापकोटा, दीपेन्द्र रेग्मीलगायतको उपस्थिति रहेको थियो। सभामा जयराम रेग्मी, शिवकुमार पोखरेल, बुद्धिबहादुर सापकोटा र साहित्यकार लक्ष्मीप्रसाद मिश्रले शुभकामना मन्तव्य राख्नुभएको थियो। सो अवसरमा साहित्यकार मिश्रले सान्दर्भिक कविता पनि प्रस्तुत गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष बुद्धिबहादुर सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव रामजी श्रेष्ठले गर्नुभएको थियो।  

प्रतिकृया दिनुहोस