मर्स्याङ्दीमा जारी निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविरमा आईतबार १०० महिलाले लिए सेवा, आज वडा नं.९ मा हुँदै
लमजुङ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित निःशुल्क स्त्रीरोग स्वास्थ्य उपचार शिविरको दोस्रो दिन हिजो (आईतबार) १०० जना महिलाले स्वास्थ्य सेवा लिएका छन्। महिलाका लागि महिला संस्था, नेदरल्यान्ड्स र स्वदेशी नेपाल (SoDeSI Nepal) को प्रायोजन तथा मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा सञ्चालित शिविरको दोस्रो दिन हिजो कार्तिक २९ गते वडा नं.१ र २ का महिलालाई लक्षित गरी भाचे आमा समूह भवनमा स्वास्थ्य सेवा प्रदान गरिएको हो।
शिविरमा दुवै वडाका गरी १०० जना महिलाले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा लिएका गाउँपालिकाले जनाएको छ। शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ महिला चिकित्सकहरूबाट पाठेघर तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्याको परीक्षण र उपचार गरिएको थियो।
कार्तिक २८ गतेदेखि सुरु भएको शिविर मंसिर ३ गतेसम्म सञ्चालन हुने छ । शिविरमार्फत गाउँपालिकाका सबै वडाका महिलालाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। शिविरमा विशेषगरी पाठेघर खस्ने समस्या, स्त्रीरोग तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या भएका महिलालाई लक्षित गरिएको छ।
शिविरअन्तर्गत आज कार्तिक ३० गते वडा नं. ९ का महिलाका लागि गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा स्वास्थ्य परीक्षण गरिनेछ। त्यसैगरी, मंसिर १ गते वडा नं. ४ र ५ का महिलाका लागि रामबजार आमा समूह भवनमा, मंसिर २ गते वडा नं. ६ का महिलाका लागि बाहुनडाँडा स्वास्थ्य चौकीमा र मंसिर ३ गते वडा नं. ३ का महिलाका लागि खुदी स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। यसअघि गाउँपालिकाले कार्तिक ११ गतेदेखि १६ गतेसम्म महिलामा देखिने पाठेघर खस्ने समस्यासम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको थियो। गाउँपालिकाले आफ्नो वडामा सञ्चालन हुने शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिन सबै महिलालाई आग्रह गरेको छ।






प्रतिकृया दिनुहोस