आज : Saturday, September 26, 2026 | २०८३ असोज १० शनिबार

भारी वर्षाको जोखिमपछि लमजुङ—मनाङ सडकमा राति सवारी आवागमनमा रोक

लमजुङ । 
असोज ९, १० र ११ गते तीन दिनसम्म भारी वर्षा हुने नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको मौसम पुर्वानुमानलाई मध्यनजर गर्दै लमजुङ देखि मनाङसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाईएको छ । वर्षापछि हुन सक्ने पहिरो तथा डुबानको जोखिम बढेपछि लमजुङमा रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, लमजुङले जारी गरेको सूचनाअनुसार नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। सो अवधिमा बाढी, पहिरो तथा डुबानका साथै सडक र मानवीय क्षतिको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।

जिल्ला सुरक्षा समितिको बिहिबारको निर्णयअनुसार असोज १२ गतेसम्म राति ९ बजेदेखि बिहान ६ बजेसम्म लमजुङ जिल्ला हुँदै मनाङको सीमासम्म जाने सवारीसाधनको आवतजावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले विपद्को अवधिभर अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै, सम्भावित बाढी, पहिरो तथा डुबानबाट हुनसक्ने जोखिमप्रति सतर्क रहनसमेत आग्रह गरिएको छ। 

प्रतिकृया दिनुहोस