सुन्दरबजारमा किचन गार्डेन तथा खानपान सुधारसम्बन्धी दुईदिने तालिम प्रदान
लमजुङ ।
सुन्दरबजार नगरपालिका–६ स्थित ज्वालामुखी आमा समूहका ३० जना महिलालाई लक्षित गरी किचन गार्डेन तथा खानपान सुधारसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ। एचडीसीएस नमुना सामुदायिक अस्पतालअन्तर्गत सञ्चालित STEP Up तथा SCALE Up कार्यक्रमको आयोजनामा वि.सं. २०८३ असोज ३ र ४ गते तालिम सञ्चालन गरिएको हो।
घरमै पोषणयुक्त तरकारी उत्पादन गर्न, स्वस्थ तथा सन्तुलित खानपानको बानी विकास गर्न र स्थानीय स्रोत–साधनको सदुपयोगमार्फत परिवारको पोषण सुधार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिममा किचन गार्डेन स्थापना तथा व्यवस्थापन, पोषण तथा स्वस्थ खानपान, भान्सा व्यवस्थापन, नर्सरी तयारी, कीरा तथा रोग व्यवस्थापन, जैविक मल तथा झोलमल निर्माण र प्रयोग लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। सहभागी महिलाहरूलाई घरमै उपलब्ध स्रोत–साधनको प्रयोग गरी तरकारी उत्पादन गर्ने, विभिन्न तरकारीका लागि नर्सरी तयार गर्ने, बालीमा लाग्ने कीरा तथा रोगको पहिचान र व्यवस्थापन गर्ने तथा जैविक मल र झोलमल तयार गरी प्रयोग गर्ने विधिबारे अभ्याससमेत गराइएको थियो।
कार्यक्रममा स्वस्थ तथा सन्तुलित खानपान, परिवारको पोषण अवस्था सुधार तथा दैनिक जीवनमा स्वस्थ खाने बानीको विकास सम्बन्धी विषयमा समेत छलफल गरिएको थियो। तालिम सुन्दरबजार नगरपालिकाकी उपप्रमुख भवानी केसीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा ज्वालामुखी आमा समूहका महिलाहरूको सक्रिय सहभागिता रहेको थियो।
किचन गार्डेनको प्रवर्द्धनमार्फत घरमै ताजा तथा पोषणयुक्त तरकारी उत्पादन, परिवारको पोषण सुधार र जैविक उत्पादन प्रणालीलाई प्रोत्साहन गर्न तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।





प्रतिकृया दिनुहोस