आज : Saturday, August 29, 2026 | २०८३ भदौ १३ शनिबार

उद्योग वाणिज्य संघ लमजुङले बाढीपीडितलाई १ लाख सहयोग गर्ने

लमजुङ ।
लमजुङ उद्योग वाणिज्य संघले रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। संघको दैवीप्रकोप उद्धार कोषबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको संघका महासचिव विपिन श्रेष्ठले जानकारी दिनुभयो ।

भोटेकोशी–त्रिशूली राहत सहयोग समितिको बिहीबार बेँसीशहरमा बसेको बैठकले राहत सहयोगका लागि संघका अध्यक्ष भरत कुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्ने निर्णयसमेत गरेको छ। बैठक संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको थियो।

बैठकले विपद्बाट प्रभावित नागरिक तथा परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। राहत संकलनका लागि विभिन्न संघ–संस्था, व्यवसायी तथा सर्वसाधारणसँग समन्वय गर्ने निर्णय पनि गरिएको महासचिव श्रेष्ठले बताउनुभयो ।

संकलित राहत रकम तथा सामग्री प्रभावित क्षेत्रमा आवश्यकता र प्राथमिकताका आधारमा वितरण गर्ने निर्णय भएको छ। राहत संकलन तथा वितरणका क्रममा प्राप्त रकम र सामग्रीको व्यवस्थित अभिलेख राख्दै सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउने निर्णय पनि समितिले गरेको छ। 

भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले समिति गठन गरिएको संघले जनाएको छ।  

प्रतिकृया दिनुहोस