आज : Thursday, August 27, 2026 | २०८३ भदौ ११ बिहीबार

आज गण्डकी, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागमा ठूलो वर्षाको सम्भावना

काठमांडौ । गएराति देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा कैलालीमा सबैभन्दा बढी ६७ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । अन्य क्षेत्रको तुलनामा मधेश प्रदेशमा भने वर्षा कम भएको छ ।

पूर्वी क्षेत्रको तुलनामा मध्य नेपालदेखि पश्चिमी क्षेत्रमा बढी वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी सम्भावना रहेको छ  । भोलिसम्म नै यी प्रदेशसहित देशका विभिन्न ठाउँमा वर्षाको गतिविधि सक्रिय रहने अनुमान छ ।

लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मौसम तथा बाढीसम्बन्धी सूचना नियमित रूपमा हेर्न, ठूलो वर्षाका बेला अनावश्यक यात्रा नगर्न, नदी–खोला तथा कमजोर पुल आसपास नजान र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । 

प्रतिकृया दिनुहोस