आज : Saturday, August 15, 2026 | २०८३ श्रावण ३० शनिबार

सार्वजनिक र सरकारी जग्गामा बनेका संरचना हटाउन सुन्दरबजार नगरपालिकाको ३५ दिने अल्टिमेटम

लमजुङ ।
लमजुङको सुन्दरबजार नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका संरचना हटाउने भएको छ। नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका संरचनाहरु ३५ दिनभित्र हटाउन भनिएको छ ।

नगरपालिकाले सार्वजनिक, ऐलानी, पर्ती, गौचरन, खर्क, कुलो, राजकुलो, भीर, पाखो, वन, खोला, नदी र खोल्सोलगायतका जग्गा संरक्षणको काम सुरु गरिएको जनाउँदै सोही अनुसार संंरचनाहरु हटाउन लागिएको जनाएको छ।

नगर प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने यस्ता जग्गामा निर्माण भएका अस्थायी तथा स्थायी संरचनाको खोजी र संरक्षण कार्य अघि बढाइएको हो। नगर कार्यपालिकाको श्रावण १४ गते बसेको बैठकले पहिलो चरणमा वडा नम्बर ९ स्थित सिँउडीबार चोक वरपरका संरचना हटाउने निर्णय गरेको छ। सरकारी तथा सार्वजनिक भनेर पहिचान भएका जग्गामा व्यक्ति वा संघसंस्थाले व्यक्तिगत वा व्यावसायिक प्रयोजनका लागि बनाएका संरचना हटाउनुपर्ने नगरपालिकाले जनाएको छ। 

नगरपालिकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र त्यस्ता अस्थायी तथा स्थायी संरचना हटाउन सम्बन्धितलाई आग्रह गरेको छ। तोकिएको अवधिभित्र संरचना नहटाए नगरपालिकाले प्रचलित कानुनबमोजिम संरचना हटाउने जनाएको छ। साथै संरचना हटाउँदा लागेको सम्पूर्ण खर्च सम्बन्धित अतिक्रमणकर्ताबाट सरकारी बाँकीसरह असुल गरिने नगरपालिकाले स्पष्ट पारेको छ। त्यसका साथै, नियमानुसार थप कारबाही प्रक्रिया अघि बढाइने नगर प्रमुख कोइरालाले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस