पोखराका सिङ्दीबासीलाई पोखरामै वडा कार्यालयको सेवा
क्व्होलासोथार गाउँपालिका ५, सिङ्दीको वडा कार्यालयले पोखरामा एकीकृत घुम्ती शिविरको आयोजना गरी नागरिकलाई सेवा प्रदान गरेको छ ।
सिङ्दी घर भइ हाल पोखरामा बसोबास गर्दै आएका गाउँका नागरिकलाई वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारी पोखरामै पुगेर सेवा प्रदान गरेको वडा कार्यालयले जनाएको छ ।
क्रअ सिङ्दी समाज घरमा साउन १३ र १४ गते २ दिन वडा कार्यालयले एकीकृत शिविरको सञ्चालन गरी सेवा प्रदान गरेको वडाअध्यक्ष गीतबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार शिविरमार्फत क्व्होलासोथार गाउँपालिका ५, सिङ्दी घर भइ हाल पोखरा बसोबास गर्दै आएका ३७ जना नागरिकले प्रत्यक्ष सेवा पाएका छन् ।
उहाँका अनुसार बर्खायाममा गाउँसम्म आउनलाई अहिले असहज छ । ठाउँठाउँमा सडक बाढीले बगाएपछि पोखराका नागरिकलाई गाउँ आउनुभन्दा गाउँबाटै जनप्रतिनिधिसहितको कर्मचारी पोखरा पुग्न सहज भएकाले पोखरामै पुगेर सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । वडा कार्यालयले पोखरामा रहेका नागरिकलाई पूर्व सूचना दिएर सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार शिविरमा सामाजिक सुरक्षा भत्ता नविकरण, मालपोत कर, प्रशासनिक कार्य अन्तरगत विभिन्न सिफारिस साथै जन्म, मृत्यु, विवाह, बसाइराईंलगायत घटना दर्ता गरिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षका लागि साउन महिनाभित्रमा सामाजिक सुरक्षा भत्ताको लाभग्राही नवीकरण गर्ने निर्णय गरेसंगै नागरिकलाई सहजता प्रदान गर्न वडा कार्यालय आफैंले सक्रियता देखाएर पोखरामा रहेका नागरिकलाई पोखरामै गाउँले समाज घरमा जम्मा गरेर सामाजिक सुरक्षा भत्ताका लागि नवीकरण, मालपोत कर भुक्तानीलगायत सिफारिस तथा विविधि सेवा प्रदान गरिएको वडाअध्यक्ष गुरुङले बताउनुभयो ।
घुम्ती शिविरमा वडाअध्यक्ष गुरुङ, सचिव पवित्रा विष्ट, कार्यालय सहयाक स्मृति गुरुङलगायत खटिनुभएको थियो ।





प्रतिकृया दिनुहोस