क्व्होलासोथार ७ को पोखरा घुम्ती शिविरबाट १४८ जनालाई सेवा
क्व्होलासोथार गाउँपालिका ७ को वडा कार्यालय भोंजेले पोखरामा एकीकृत घुम्ती शिविरको आयोजना गरी गाउँका नागरिकलाई सेवा प्रदान गरेको छ ।
पोखरामा पसगाउँ तमू समाजको घरमा आयोजना गरिएको घुम्ती शिविर कार्यक्रममार्फत क्व्होलासोथार गाउँपालिका ७ घर भइ हाल पोखरा बसोबास गर्दै आएका १ सय ४८ जनाले प्रत्यक्ष रुपमा सेवा लिएका छन् ।
वडाअध्यक्ष लक्ष्मुन गुरुङले पोखराबासीलाई लक्षित गरी पोखरामा साउन १६ गते एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार बर्खायाममा गाउँसम्म आउनलाई असहज हुने भएकाले पोखरामै पुगेर नागरिकलाई सेवा प्रदान गरिएको बताउनुभयो । वडा कार्यालयले पोखरामा रहेका नागरिकलाई पूर्व सूचना दिएर सेवा प्रदान गरिएको बताउनुभयो ।
शिविरमा सामाजिक सुरक्षा भत्ता नविकरण, मालपोत कर, प्रशासनिक कार्य अन्तरगत विभिन्न सिफारिस साथै जन्म, मृत्यु, विवाह, बसाइराईंलगायत घटना दर्ता गरिएको वडाअध्यक्ष गुरुङले बताउनुभयो ।
सरकारले चालु आर्थिक वर्षका लागि साउन महिनाभित्रमा सामाजिक सुरक्षा भत्ताको लाभग्राही नवीकरण गर्न भनेपछि वडा कार्यालय आफैंले सक्रियता देखाएर पोखरामा रहेका नागरिकलाई पोखरामै एक ठाउँमा बोलाएर सामाजिक सुरक्षा भत्ताका लागि नवीकरण, मालपोत कर भुक्तानीलगायत सिफारिस तथा विविधि सेवा प्रदान गरिएको वडाअध्यक्ष गुरुङले बताउनुभयो ।
घुम्ती शिविरमा वडाअध्यक्ष गुरुङ, वडा सचिव नवीन घर्तीमगर, सामाजिक परिचालक उषा गुरुङ, समाजसेवी मिना गुरुङलगायत खटिनुभएको थियो ।





प्रतिकृया दिनुहोस