राइनास नगरपालिकामा युवाका मुद्दामा बहसपैरवी कार्यक्रम
राइनास नगरपालिकामा युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रमको आयोजना गरिएको छ ।
राइनास नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगरपालिका केन्द्र तिनपिप्लेमा कार्यक्रमको आयोजना गरिएको हो ।
नगरपालिकाभित्रका युवाहरुको सहभागीतामा मंगलबार युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा अन्तरक्रियासहितको बहस पैरवी कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागी युवाले स्थानीय तहले युवालाई स्वदेशमै व्यवसायिक र आत्मनिर्भर बनाउने योजना ल्याउन सुझाव दिएका छन् । बेरोजगारको समस्या समाधान हुने खालका स्वरोजगारमूलक कार्यक्रम ल्याउन आग्रह गर्दै उनीहरुले युवालाई विदेश जान रोक्ने र विदेश गएका युवा समेत गाउँघर फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले आगामी वर्षको नीति तथा कार्यक्रममा युवालक्षित कार्यक्रमलाई प्राथामिकता दिइने प्रतिवद्धता जनाउनुभयो । उहाँले युवालाई सगठित गरेर युवाका आवश्यकता, सुझावलाई मनन् गर्दै युवा सशक्तिकरणको लागि नगरपालिका अघि बढेको भन्दै यसमा युवाहरुको पनि सकरात्मक सहभागीता आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले युवाहरु दिनदिनै विदेश जानुपर्ने बाध्यतात्मक अवस्थालाई रोक्न स्वयं युवा नै लाग्नुपर्ने भन्दै युवालाई विकास र आत्मनिर्भर बनाउन नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले देश निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहेको भन्दै व्यक्तित्व विकाससंगै सामाजमा युवाले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । भविश्य युवाको हातमा रहेको र युवा सही बाटोमा नलागे देश पनि सही बाटोमा अघि नबढ्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा राइनास नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पूर्णवहादुर अछामीले युवामैत्री स्थानीय शासनको अवधारणा, लंैगिक सवाल, समावेशीकरणलगायत विषयबारे जानकारी गराउनुभएको थियो । राइनास नगरपालिका २ का पूर्व वडाअध्यक्ष रामचन्द्र अधिकारीले नेतृत्व विकास र विजय गुरुङले समुदायको विकासका लागि युवाहरुको सक्रियता, विपद् व्यवस्थापनका क्षेत्रमा युवाको भूमिका लगायतबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा राइनास नगरपालिकाका १६ वर्षदेखि २४ वर्ष उमेर समूहका १ सय ६ जना युवाहरुको सहभागिता रहेका थिए । कार्यक्रममा वडास्तरीय युवा क्लव गठन, नमुना संसद अभ्यास, युवा परिचालन सम्वन्धि प्रशिक्षण, विपद् व्यवस्थापनमा युवाको भूमिका, वहस पैरबी गरी ८ दिनसम्म युवा लक्षित कार्यक्रम सञ्चालन गरिएको अछामीले जानकारी दिनुभयो ।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख अछामीको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन स्रोतव्यक्ति कुमार न्यौपानेले गर्नुभएको थियो ।





प्रतिकृया दिनुहोस