आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

सुन्दरबजार नगरपालिका र नेपाल बैंकबीच व्याज अनुदान सम्झौता

लमजुङको सुन्दरबजार नगरपालिका र नेपाल बैंक लिमिटेडबीच मेयर उद्यमशीलता कार्यक्रमका लागि सहकार्यको सम्झौता भएको छ ।
कार्यक्रमका लागि ऋण प्रवाह तथा ब्याजदर अनुदान सम्वन्धी सम्झौता गरिएको सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले बताउनुभयो । उहाँका अनुसार शुन्य प्रतिशत व्याजदरमा ऋण प्रवाह गरी विपन्न बर्गलाई उद्यमशिलतासँग जोड्ने उद्देश्यले बैंकसंग सम्झौता गरिएको हो । कार्यक्रमका लागि नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, सुन्दरबजार नगरपालिकाको तर्फबाट नगर प्रमुख कृष्णप्रसाद कोइराला र प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
मेयर उद्यमशीलता कार्यक्रमको लागि चालु आर्थिक वर्ष २०८०–०८१ मा सुन्दरबजार नगरपालिकाले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । उद्यमी बन्न चाहने युवालाई लक्षित गरी शुन्य प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने गरी नेपाल बैंक सँग सम्झौता गरिएको नगरप्रमुख कोइरालाले बताउनुभयो । सम्झौता अनुसार स्वरोजगार बन्न चाहने युवालाई नेपाल बैंक लिमिटेडले विना धितो ऋण उपलब्ध गराउने उहाँले बताउनुभयो । 
उक्त कार्यका लागि कार्यविधि बनाएर एक व्यक्ति वा समूहलाई कम्तिामा २ लाख रुपैयाँका दरले ऋण उपलब्ध गराउने योजना रहेको नगरपालिकाले जनाएको छ । सम्झौता अनुसार नगरपालिकाले छुट्याएको ५० लाख बजेटमा बैंकको तर्फबाट त्यसको तिन गुणा रकम अर्थात १ करोड ५० लाख रुपैयाँ चालु आर्थिक वर्षमा सुन्दरबजार नगरपालिकालाई सहुलियतपूर्ण कर्जाको रुपमा नेपाल बैंकले उपलब्ध गराउने भएको छ ।
नगरपालिकाले विनियोजित गरेको रकम उद्यमशिलता विकास कोषको नाउँमा वीउ पूँजीका रुपमा रहने छ । नगरपालिकामा प्रवाह गरिने सहूलियतपूर्ण कर्जाले रोजगारी नपाएर परदेशिनुपर्ने बाध्यतामा रहेको युवालाई स्वदेशमै रोक्न र उद्यमसंग जोड्न मदत पुग्ने नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस