त्रिवेणी युवा क्लबको वार्षिक आय–व्यय सार्वजनिक, सहयोगदाताहरुलाई सम्मान
बेँसीशहर ।
त्रिवेणी युवा क्लब बेँसीशहरले आर्थिक बर्ष २०८२/८३ को आय-व्यय सार्वजनिक गरेको छ । शुक्रवार साँझ वरण्डा रेष्ट्रो एन्ड इभेन्टमा बेँसीशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालको प्रमुख आथित्यतामा क्लवले आय-व्यय सार्वजनिक गरेको हो । सोही अवसरमा क्लबलाई आर्थिक सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाइ सम्मानपत्र र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख अर्यालले त्रिवेणी युवा क्लबले खेलकुद तथा सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले त्रिवेणी क्लबलाई बेँसीशहर नगरपालिकाले विगतदेखि नै सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगरप्रमुख अर्यालले विशेषगरी फुटबल खेलमार्फत त्रिवेणी क्लबले लमजुङलाई राष्ट्रियस्तरमा चिनाउन सफल भएको बताउँदै खेलकुदको माध्यमबाट जिल्लाको पहिचान र प्रतिष्ठा बढाउन क्लबले पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । स्थापित संघसंस्था र क्लबहरुलाइ समेत आर्थिक सहयोग गर्न सक्ने हैसियत बनाएको भन्दै क्लबले गर्दै आएको कार्यको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा क्लबका अध्यक्ष टेकजंग गुरुङले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सार्वजनिक गर्दै वर्षभरि सञ्चालन गरेका विभिन्न गतिविधि तथा कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । क्लबले खेलकुदसँगै सामाजिक क्षेत्रमा समेत गर्दै आएका गतिविधिलाई निरन्तरता दिने जनाएको छ । गत आर्थिक वर्ष करिब १६ लाखको अतिरिक्त कार्यक्रमहरु गरिएको अध्यक्ष गुरुङको भनाई छ । अध्यक्ष गुरुङले क्लबका गतिविधिमा निरन्तर साथ, सहयोग र सहकार्य गर्ने सम्पूर्ण सहयोगी संघसंस्था, व्यक्ति तथा शुभचिन्तकहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो । साथै आगामी दिनमा पनि क्लबका गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउन सबैको निरन्तर सहयोग र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रममा कोषाध्यक्ष केस रानाले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यसै अवसरमा त्रिवेणी युवा क्लबले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । भवन निर्माण अभियानलाई सहयोग पुर्याउने उद्देश्यले क्लबको तर्फबाट ५० हजार रुपैयाँको चेक नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेललाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा त्रिवेणी युवा क्लबका पूर्व अध्यक्षहरू, क्लबका शुभचिन्तकहरू, जनप्रतिनिधिहरू, सहयोगी संस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो । क्लबले आगामी दिनमा खेलकुदसँगै सामाजिक क्षेत्रमा समेत आफ्नो भूमिका थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । आय–व्यय सार्वजनिक तथा सम्मान कार्यक्रमले क्लबको आर्थिक पारदर्शितासँगै सामाजिक उत्तरदायित्व र सहयोगीहरूप्रतिको सम्मानलाई समेत उजागर गरेको छ ।
कार्यक्रममा स्वागत उपाध्यक्ष इन्द्र रानाले गर्नुभएको थियो ।






प्रतिकृया दिनुहोस