आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

युएनडिपी (UNDP)को कर्मचारी भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को कर्मचारी हुँ भन्दै ठगी गर्ने एक व्यक्तिलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।

शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग दिलाउने प्रलोभनमा पारेर ठगी गर्दै हिँड्ने एक व्यक्तिलाई लमजुङको दोर्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरिक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

विभिन्न व्यक्ति तथा संस्थाबाट रकम असुल्ने चितवनको खैरहनी नगरपालिका–१३ घर भएका २५ वर्षीय सुजन सिलवाललाई दोर्दी गाउँपालिका ४ बाट पक्राउ गरिएको बोहोराले बताउनुभयो । सिलवालले विगत केही दिनदेखि आफूलाई युएनडिपीको कर्मचारी भनी परिचय दिँदै ठगी गर्दै आएको खुल्न आएपछि प्रहरीले निगरानी गरेको थियो ।

सिलवालले लमजुङका विभिन्न वडा कार्यालय, कृषि फार्म तथा विद्यालयहरूमा पुगेर भौतिक पूर्वाधार विकास तथा अनुदान सहयोग उपलब्ध गराउने प्रलोभन देखाउँदै आएको बताइएको छ । उक्त बहानामा उनले निवेदन शुल्क, प्रतिलिपि सेवा शुल्क तथा दस्तुर भन्दै रकम असुली ठगी गर्दै हिँडेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सुचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिनुभयो ।  

प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पुस १८ गते शुक्रबार साँझ दोर्दी–४ बाट सिलवाललाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको  पाण्डेले बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा अनुसार,सिलवालले युएनडिपीमा जागिर लगाइदिने भन्दै एकजना सहयोगी राखेको र सोही भ्रममा पारी भाडाको सवारी साधन र चालकसमेत लिएर हिँड्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले यस प्रकरणमा वा यस्तै प्रकृतिको ठगीमा परेका अन्य व्यक्ति वा संस्थाहरू भए आवश्यक प्रमाणसहित तत्काल प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । 

प्रतिकृया दिनुहोस