आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

३० औँ सिर्जना कप पौष २७ देखि सुरु हुने : तयारी तिव्र

मस्र्याङ्दी गाउँपालिका–६, ठुलीबेसीमा आगामी पौष २७ गतेदेखि माघ ३ गतेसम्म ३० औँ सिर्जना कप तथा माघी मेला–२०८२ आयोजना हुने भएको छ । आयोजक सिर्जना युवा क्लव ठुलीबेसीले शनिबार बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि ३० औँ सिर्जना कपको बारेमा जानकारी गराएको हो ।

‘माघी मेला हाम्रो पहिचान, इतिहास, कला र संस्कृतिको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मेलाको आयोजना गरिएको क्लवका अध्यक्ष देवीराम अधिकारीले बताउनुभयो ।  विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि माघे संक्रान्ति पर्वको अवसर पारेर सेभेन ‘ए साइड खुला फुटबल प्रतियोगिताको साथमा विविध साँस्कृतिक कार्यक्रम सहित माघि मेला आयोजना गरिएको अध्यक्ष अधिकारीले पत्रकार  भेटघाट कार्यक्रममा जानकारी दिनुभयो ।

युवाहरुलाई खेलकुदमा जोड्न, अनुशासित बनाउन र स्थानिय संस्कृति तथा पर्यटन प्रवद्र्धन  गर्ने मुख्य उदेश्यसहित कार्यक्रम आयोजना गरिएको क्लवका सचिव रामप्रसाद परियारले बताउनुभयो । मुख्य आकर्षणको रुपमा आयोजना गरिएको फुटवल प्रतियोगिताको विजेतालाई

नगद १ लाख ५० हजार रुपैयाँसहित सिर्जना कप, स्वर्ण पदक र प्रमाण–पत्र प्रदान गरिने आयोजक सिर्जना युवा  क्लवका उपाध्यक्ष करण  थापाले बताउनुभयो । द्वितीय हुने टिमलाई ७५ हजार रुपैयाँ, रजत पदक र प्रमाण–पत्र प्रदान गरिनेछ ।

सेमिफाइनलीष्ट दुई टिमलाई नगद १५÷१५  हजार रुपैयाँ प्रदान गरिने छ । क्वाटर फाइनल खेल्ने प्रत्येक टिमलाई प्रोत्साहन स्वरूप १ हजार रुपैयाँ उपलब्ध गराइने थापाले पत्रकार भेटघाट कार्यक्रमा जानकारी दिनुभयो । त्यसैगरीक उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने क्लबले  जनाएको छ । कार्यक्रममा अर्को मुख्य आकर्षणको रुपमा परम्परागत झाँक्री नाच प्रदर्शन गरिनुका साथै लमजुङ जिल्लाको मौलिक संस्कृति ठाडोभाका समेत प्रस्तुत गरिने भएको छ । डाठोभाका गायक बुद्धिमान दुरा धप्पु, सिता दुरालगायका कलाकारहरुले ठाडोभाका प्रस्तुत गर्ने कार्यक्रम  तय गरिएको जानकारी  गराइएको छ ।

यसैगरी छेलो हान्ने प्रतियोगिताको साथमा मिनिम्याराथन प्रतियोगिता समेत आयोजना गरिएको छ । मिनिम्याराथन प्रतियोगितामा मस्र्याङ्दी गाउँपालिका भित्रका नागरिक मात्र सहभागि हुन पाउने आयोजकले जनाएको छ । पुस ३० गते साँझ झाँक्री प्रदर्शन, ठाडो भाका प्रस्तुती र सास्कृतिक कार्यक्रम हुनेछ भने माघ १ छेलो प्रतियोगिता हुने छ ।  

उक्त कार्यक्रमको करिब ५ हजार दर्शकले अवलोक गर्ने लक्ष्य राखिएको छ । मेला  सञ्चालनका लागि करिव १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । खर्च कटाएर करिव ८  लाख रुपैयाँ बचन हुने गरि कुल २० लाख रुपैयाँ आम्दानी  गर्ने लक्ष्य राखिएको क्लवका अध्यक्ष अधिकारीले बताउनुभयो । कार्यक्रम सञ्चालनका लागि देश विदेशमा रहनुभएका सहयोगी व्यक्तित्वहरु, लगायत विभिन्न संघ संस्थाहरुले स्वत स्फुर्त रुपमा सहयोग गरिरहेका छन् ।  यो  समाचार तयार पार्दा सम्म १३ लाख रुपैयाँ सहयोग संकलन भइसकेको आयोजक सिर्जना युवा क्लवले जनाएको छ ।

प्रतिकृया दिनुहोस