आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

बालकल्याण माविको स्वर्ण महोत्सवको  तयारी पूरा

बालकल्याण माध्यामिक विद्यालय भकुण्डेको स्वर्ण महोत्सवको तयारी पुरा भएको छ । बेसीशहर नगरपालिका–२, भकुण्डेमा रहेको बालकल्याण माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा पुस २३ देखि २५ गतेसम्म आयोजना गरेको स्वर्ण महोत्सवको सम्पुर्ण तयारी पूरा भएको विद्यालयले जनाएको छ ।  

विद्यालय स्थापनाको स्वर्ण जयन्ती अवसरमा शैक्षिक, सांस्कृतिक तथा सम्मान कार्यक्रमसहित महोत्सव मनाउन लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं बेसीशहर नगरपालिका–२ का वडाध्यक्ष मदनबहादुर रानाले बताउनुभयो । विद्यालयको आन्तरिक कार्यक्रम भने पुस १८ गतेदेखि नै सुरु भइसकेको रानाले बताउनुभयो ।

महोत्सवको पहिलो दिन पुस २३ गते उद्घाटन समारोह, प्रभातफेरी, स्वर्ण गेट उद्घाटन, विद्यार्थी तथा आमा समूहको नृत्य, कलाकारको प्रस्तुति, चन्दादाता सम्मान तथा अभिभावकका लागि प्रेरणामूलक कार्यक्रम आयोजना गरिनेछ ।

पुस २४ गते शैक्षिक अन्तरक्रिया, शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालले बताउनुभयो । अन्तिम दिन पुस २५ गते स्वर्णस्तम्भ अनावरण, विद्यालयको प्रतिवेदन प्रस्तुत, भावी शैक्षिक प्रतिबद्धता सार्वजनिक, उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मान, कलाकारको प्रस्तुति र साँझ दीप प्रज्वलन कार्यक्रम रहेको छ ।

विद्यालयमा डिजिटल शिक्षण–सिकाइ, शिक्षक सक्षमता विकास, भौतिक पूर्वाधार सुधार, नयाँ भवन, पुस्तकालय तथा सभाहल निर्माण, बालउद्यानलगायत योजना अघि सारिएको महोत्सव प्रचारप्रसार समितिका संयोजक एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसीले बताउनुभयो । ती योजनाका लागि ‘स्वर्ण कोष’ स्थापना गरी घरदैलो अभियानमार्फत सहयोग संकलन भइरहेको उहाँले बताउनुभयो ।

विद्यालयका अनुसार स्वर्ण कोषमा हालसम्म ६० लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको छ। बेसीशहर नगरपालिकाले स्वर्ण गेट निर्माणका लागि ४ लाख रुपैयाँ र वडा कार्यालयले स्वर्ण महोत्सवका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।   

वि.सं. २०३२ सालमा स्थापना भएको यस विद्यालयबाट हालसम्म करिब ४ हजार विद्यार्थीले अध्ययन पूरा गरिसकेका छन् । तीमध्ये १ हजार २८ जनाले एसईईएसएलसी उत्तीर्ण गरेका छन् भने करिब ३ सय जनाले कक्षा १२ पास गरी देश तथा विदेशका विभिन्न क्षेत्रमा कार्यरत रहेको विद्यालयले जनाएको छ । विद्यालयको स्वर्ण महोत्सव समारोहमा चर्चित चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । महोत्सवमा चर्चित कलाकारहरु कुलेन्द्र विश्वकर्मा, जिवन दाहाल, शिला आले, बालचन्द्र बराल, रवि कार्की, मञ्जु विक, अनुज अधिकारी, प्रशान्त तामाङ, पुजा परियार लगायतको प्रस्तुती रहने विद्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस