नमुना सामुदायिक अस्पताल(HDCS) ले ३ वर्षमा झण्डै ५० हजारलाई सेवा प्रवाह
सुन्दरबजारमा रहेको नमुना सामुदायिक अस्पतालले ३ वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । अस्पतालले शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि ३ वर्षको प्रगति विवरण सार्वजनिक गरेको हो । अस्पतालले सार्वजनिक गरेको गत ३ वर्षको प्रगति विवरण अनुसार झण्डै ५० हजार विरामीलाई सेवा प्रवाह गरिएको उल्लेख गरेको छ ।
अस्पताल प्रमुख हेमन्त श्रेष्ठले मानव विकास तथा सामुदायिक सेवा (एचडिसियस) ले अस्पताल सञ्चालनको जिम्मा लिएको ३ वर्षको अवधिमा ४८ हजार ८ सय ५० जना विरामीलाई उपचार सेवा प्रदान गरिएको बताउनुभयो ।
एचडिसिएसले अंग्रेजी पात्रोअनुसार २०२३ को जनवरीदेखि नमुना सामुदायिक अस्पताल व्यवस्थापनको जिम्मा लिएको श्रेष्ठले बताउनुभयो । अस्पताल प्रमुख श्रेष्ठका अनुसार पहिलो वर्ष २०२३ मा १४ हजार ३ सय ६८, दोस्रो वर्ष २०२४ मा १६ हजार ४९ र तेस्रो वर्ष २०२५ मा १८ हजार ४ सय ३३ गरी कुल ४८ हजार ८ सय ५० बिरामीलाई बहिरङ्ग सेवा प्रवाह गरीएको जानकारी दिनुभयो ।
तीन वर्षको अवधिमा अस्पतालमा आएका बिरामीमध्ये २२ हजार ८ सय ५६ जना बिरामीलाई निःशुल्क सेवा प्रदान गरिएको थियो । निःशुल्क सेवा लिनेमा १३ हजार ४ सय ५३ महिला र ९ हजार ४ सय ३ पुरुष रहेका छन् ।
अस्पतालका अनुसार ३ वर्षको अवधीमा ५३ जनाले प्रसुती सेवा, ९ हजार ५ सय ३५ ले दन्त सेवा, ३ सय ७४ जनाले आँखा उपचार सेवा, ६४ जनाले खोप सेवा लिएका छन् । सो बाहेक अस्पतालबाट ३ सय ३९ जनाले रेविज खोप लगाएको, सर्पदंशका ६५ जनाले उपचार सेवा लिएको, विष सेवनका १५ जना र फुड पोइजनाका ५९ जनाको उपचार भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष परमेश्वर अधिकारीले बताउनुभयो ।
शल्यक्रिया सेवा अन्तर्गत ५ हजार ८ सय ३१ जनाको सामान्य र २३ जनाको जटिल प्रकारको शल्यक्रिया भएको छ । २ हजार १ सय १८ जनाले मनोविमर्श सेवा लिएका छन् । २०२४ बाट फिजियोथेरापी सेवा सुरु गरेको अस्पतालले २ वर्षमा २ हजार ३ सय ३३ लाई सेवा दिएको जनाएको छ ।
अस्पतालले बहिरङ्ग सेवासँगै अन्तरङ्ग, आकस्मिक, ल्याब, एक्सरे, भिडियो एक्सरे, इसिजी, पिएफटि, प्रसूति, शल्यक्रिया, फिजियोथेरापी, दन्त, आँखासम्बन्धी परीक्षण तथा उपचार सेवा, खोप, मनोविर्मश लगायतका सेवा प्रदान गर्दैआएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।
अस्पतालले विद्यालय तथा समुदायस्तरमा स्वास्थ्य सचेतनाका कार्यक्रम, विपद् व्यवस्थापन, पूर्व तयारी तालिम तथा प्राथामिक उपचारसम्वन्धि प्रशिक्षण, निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम सञ्चालन गर्दैआएको जनाएको छ ।





प्रतिकृया दिनुहोस